धनगढी – नक्कली फाइल बनाएर डेढ करोड ऋण प्रवाह गरेको भेटिएपछि धनगढीको नवजीवन सहकारी संस्था लिमिटेडले आफ्ना १० कर्मचारीलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ।
उक्त कुरा बाहिरिएपछि सहकारीले सहकारीका उपाध्यक्ष चेतराज ओझाको संयोजकत्वमा छानबिन समिति गठन गरिएको थियो। सोही छानबिनपछि उनीहरुलाई दोस्रो पटक २४ घण्टे स्पष्टीकरण सोधेको सहकारीका महाप्रबन्धक डम्मरसिंह गुरुले बताए ।
यस्तै छानबिन समितिको प्रतिवेदनपछि सहकारीका धनगढी मुख्य शाखाका सहायक महाप्रबन्धक एवं तत्कालीन धनगढी मुख्य शाखा प्रमुख प्रेमराज जोशी र धनगढी शाखाका ऋण विभाग प्रमुख धनन्जय भट्टलाई पनि स्पष्टीकरण सोधिएको थियो। जोशी र भट्टको कार्यसम्पादन नियमसंगत नदेखिएपछि उनीहरूलाई धनगढी मुख्य बैंकिङ कार्यालयमा तानिएको सहकारीका उपाध्यक्ष चेतराज ओझाले जानकारी दिए।
जोशी र भट्टले सहकारीका नक्कली फाइल प्रमाणीकरण तथा सदर गरेको भेटिएपछि दुवैलाई दैनिक जिम्मेवारीबाट मुक्त गरिएर जगेडामा राखिएको समेत ओझाले बताए।