मतदाता नामावली संकलन आजबाट
काठमाडौं – निर्वाचन आयोगले मतदाता नामावली संकलन कार्य आजबाट सुरु गर्दै छ । आगामी प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आयोगले ७७ वटै जिल्लामा आजबाट नामावली संकलन तथा अद्यावधिक कार्य सुरु गर्न लागेको हो ।
प्रदेश र प्रतिनिधि सभा निर्वाचन कहिले हुन्छ भन्ने टुंगो लागिसकेको छैन ।
स्थानीय तह निर्वाचन वैशाख ३० गते गर्ने भनेर सरकारले गत माघ २४ गते मिति घोषणा गरेपछि माघ २५ गतेदेखि मतदाता नामावली संकलन स्थगित गरिएको थियो । स्थगित भएको उक्त काम आजबाट पुनः सुरु गर्न लागिएको हो ।
विभिन्न पेशा व्यवसाय तथा अध्ययनको सिलसिलामा आफ्नो स्थायी ठेगानाभन्दा अन्यत्र अस्थायी रुपमा बसोबास गरेकाहरुले पनि आफू बसेकै स्थानबाट मतदाता नामावलीमा आफ्नो नाम लेखाउन सक्ने छन् । तर उनीहरुले मतदान भने आफ्नो मतदाता नामावली जहाँ छ त्यहींबाटै गर्नुपर्ने छ ।
आफ्नो नाम, थर, लिंग, जन्मस्थान लगायतको कुनै पनि विवरणमा त्रुटी भएको भए यही बेला त्यसलाई सच्याउन सकिने आयोगले जनाएको छ । साथै आफूलाई पायक पर्ने मतदान केन्द्रमा मतदाता नामावली स्थानान्तरण गर्न पनि सकिने आयोगले जनाएको छ ।
यसैगरी मतदाता नामावली अध्यावधिकको काम पनि सबै निर्वाचन कार्यालयहरुबाट हुने निर्वाचन आयोगले जनाएको छ ।
आयोगका अनुसार मतदाताले झुटो विवरण दिई मतदाता नामावलीमा नाम समावेश गरेमा कुनै पनि व्यक्तिले प्रमाणसहित उजुरी दिएमा नाम दर्ता अधिकारीले छानबिन गरी उक्त नाम हटाउन सक्नेछन् ।