काठमाडौं – मनसुन देशभरि फैलिन अझै केही दिन लाग्ने जलवायु तथा मौसम विभागले जनाएको छ। गत जेठ २२ गते नेपालको पूर्वी भागबाट प्रवेश गरेको मनसुन देशभरि फैलिन अझै २/३ दिन लाग्ने वरिष्ठ मौसमविद् वरुण पौडेलले बताए।
पौडेलका अनुसार हाल प्रदेश १, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव छ। अन्य प्रदेशका पहाडी भूभागमा स्थानीय वायुको तथा भारतको उत्तरप्रदेश र बिहारमा रहेको पूर्व–पश्चिमी न्यून चापीय रेखाको प्रभाव छ।



‘देशभरि मनसुनको प्रभाव छैन,’ पौडेलले भने। सामान्यतया नेपालमा मनसुन जुन १३ मा भित्रिने भए पनि यस वर्ष सो समयभन्दा एक साताअगाडि नै अर्थात् जुन ५ मै मनसुन प्रवेश गरेको छ। नेपालमा साधारणतयाः जुनदेखि सेप्टेम्बरसम्मलाई मनसुनको अवधि भनिन्छ। उक्त समयमा नेपालमा वर्षभरि पर्ने पानीको ८०५ पानी पर्छ।
राति प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भूभागमा आंशिक बदली रही प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
सोमबार देशभरि आंशिकदेखि सामान्य बदली हुने र प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
रासस
