बझाङ ५७ औँ साक्षर जिल्ला घोषणा

बझाङ – बझाङ जिल्लालाई ५७ औँ साक्षर जिल्ला घोषणा गरिएको छ। मानवतावादी बझाङी राजा जयपृथ्वी बहादुर सिंहको फोटोमा माल्यार्पण गरेर बझाङ जिल्लालाई आज साक्षर जिल्ला घोषणा गरिएको हो।

साक्षर नेपाल बर्ष २०७६ अवधारणा पत्र बमोजिम विभिन्न अभियान सञ्चालन गरेकाले मंगलबार औपचारिक रुपमा जिल्लालाई साक्षर घोषणा गरिएको जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख सुरेन्द्र बहादुर कडायतले बताए। बझाङ जिल्लाका १२ वटै स्थानीय तहका १५ देखि ६० बर्ष उमेर समूहका निरक्षरहरुलाई १२ वटा मापदण्ड मध्ये ७ वटा मापदण्ड पूरा गरे अनुसार स्थानीयतहहरु यसअघि नै साक्षर घोषणा भइसकेका थिए।


साक्षर जिल्ला घोषणा कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले बझाङ जिल्लाका ९५ प्रतिशत जनसंख्या साक्षर भएपनि बाँकी रहेका ५ प्रतिशत पनि साक्षर हुनेगरी पूर्णरुपमा साक्षर जिल्ला घोषणा गर्नुपर्ने, अझै कतिपय बालबालिकाहरूले वीचमै विद्यालय छोड्ने भएकाले कसरी कम गर्न सकिन्छ। त्यसतर्फ समेत सबैले ध्यान दिनुपर्ने बताए।
त्यसैगरी जयपृथ्वी नगरपालिकाका मेयर चेतराज बजालले बझाङ जिल्ला मात्र हैन देशभर शिक्षा र मानवताको सन्देश फैलाउने जयपृथ्वी बहादुर सिंहलाई सोमबार मात्रै सरकारले १८ औँ राष्ट्रिय विभूति घोषणा गरेकोप्रति सरकारलाई धन्यवाद दिए। कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै सुदुरपश्चिम प्रदेश सांसद शान्ति नेपालीले शिक्षा नै सबैभन्दा ठूलो धन भएकाले आगामी दिनमा बझाङ जिल्लालाई विभेद, हिंसारहित जिल्लाको रुपमा समेत घोषणा गर्नुपर्ने बताए।बझाङ जिल्लाको इतिहास मानवतावादी विचारक जयपृथ्वी बहादुर सिंहका विचार आजपनि उत्तिकै सान्दर्भिक रहेकोमा उनले जोड दिए।
