धनगढी उपमहानगरपालिकाका मेयर हमालले असार महिनाको सुविधा दक्षिणकाली बहिरा आधारभूत आवासीय विद्यालयलाई हस्तान्तरण गरे

Image
maya metro

धनगढी – धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले असार महिनाको सुविधा दक्षिणकाली बहिरा आधारभूत आवासीय विद्यालयलाई हस्तान्तरण गरेका छन्। मंगलबार एक कार्यक्रमबीच मेयर हमालले उपमहानगरपालिकाको वडा नम्बर ११ मा रहेको बहिरा आधारभूत विद्यालयलाई असार महिनाको सुविधावाफतको रकम ८१ हजार ५ सय ७६ रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्।

उक्त विद्यालयमा प्रदेशका कैलाली, कञ्चनपुर, डोटी, बैतडी, अछाम, बझाङ, बाजुरा, डडेल्धुरा जिल्लाका फरक क्षमता (बहिरा) भएका विद्यार्थी अध्ययनरत रहेको बताइएको छ। विभिन्न कठिनाइबीच सञ्चालन हुँदै आएको उक्त विद्यालयमा अध्ययनरत आर्थिक रुपमा विपन्न बालबालिकाको नियमित पठनपाठनका साथै लत्ताकपडाका लागि सहयोग पुगोस् भनेर मेयर हमालले सो रकम हस्तान्तरण गरेका हुन्।

nisarga

विद्यालयमा कक्षा ६ सम्म पढाइ हुने गरेको छ। २०७२ सालबाट सञ्चालनमा आएको सो विद्यालयका लागि नेपाल सरकारले वार्षिक ४० हजार रुपैयाँ मात्रै उपलब्ध गराउँदै आएको बताउँदै विद्यालयमा दोभाषेको रुपमा कार्यरत बहिरा संघ कैलालीका मौसम भट्टले मेयर हमालले ठुलो रकम सहयोग गरेर पुण्यको काम गरेको भन्दै खुसी व्यक्त गरे।

उनका अनुसार १२५ जना छात्रछात्रा रहेको विद्यालयमा छात्राको संख्या बढी छ। विद्यालयले विगत लामो समयदेखि विभिन्न समस्याको सामना गर्दै आएको उनले बताए। विद्यालयको डिपिआर तयार भएर पनि अहिलेसम्म काम हुन नसकेको उनको गुनासो छ। विद्यालय सुरक्षाका लागि पर्खाल नभएकाले छाडा पशु चौपायाका कारण अध्ययन-अध्यापनमा समस्या भइरहेको विद्यालयले जनाएको छ।