नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशस्तरीय छनोट प्रतियोगिता शुक्रबारदेखि शुरु हुने

Image
maya metro

बैतडी – नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशस्तरीय छनोट प्रतियोगिता शुक्रबारदेखि शुरु हुने भएको छ। सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का अनुसार शुक्रबारदेखि शुरु हुने छनोट प्रतियोगिता असोज ७ गते सम्पन्न हुनेछ।

छनोट प्रतियोगितामा फुटबल, क्रिकेट, कबड्डी, भलिबल, बास्केटबल, ह्याण्डबल, ब्याडमिन्टन, टेबलटेनिस, कराँते, भारत्तोलन, बक्सिङ, उसु, तेक्वान्दो, खोखो, बुद्धिचाल, कुस्तीलगायत खेल हुने जनाइएको छ। छनौट प्रतियोगिताहरू कैलाली र कञ्चनपुरमा सञ्चालन हुनेछन्।

nisarga

प्रदेशस्तरीय छनोट प्रतियोगितामा सहभागी जनाउन जिल्लाबाट छनोट भएका खेलाडीहरू कैलाली र कञ्चनपुर पुग्ने क्रम जारी रहेको बैतडी जिल्ला खेलकुद समितिका प्रमुख तर्कराज जोशीले बताए।

उक्त छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीले नवौं राष्ट्रिय खेलकुदमा सहभागिता जनाउन पाउनेछन्।

राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता पुरुष क्रिकेटबाहेक आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशको पोखरामा हुने तय भएको छ।