
अत्तरिया – कैलालीको अत्तरियामा माध्यमिक विद्यालय स्तरिय भलिबल प्रतियोगिता हुने भएको छ । अत्तरियाबाट प्रकाशित हुँदै आएको उद्वार खबर राष्ट्रिय दैनिकको आयोजनामा पौष १६ र १७ गते प्रतियोगिता हुने भएको हो । प्रतियोगिता गोदावरी नगरपालिका वडा नं. २ उत्तरबनखेतमा रहेको सुदूरपश्चिम माध्यमिक विद्यालयको खेल मैदानमा हुनेछ ।भलिबल प्रतियोगितामा टिम दर्ताका लागि १ हजार रुपैँया तोकिएको छ ।
प्रतियोगितामा कक्षा १० सम्मका विद्यार्थी तथा सोहि विद्यालयका २ जना शिक्षकले सहभागीता जनाउन सक्ने प्रतियोगिताका संयोजक एवम् उद्वार खबर राष्ट्रिय दैनिकका प्रकाशक नरेश नाथ योगीले बताए ।उक्त खेलमा खेलाडी तथा शिक्षक सम्बन्धित विद्यालयको नभएमा टिम रद्व हुने जनाईएको छ । भलिबल प्रतियोगितामा चुरे गाउँपालिका, गोदावरी नगरपालिका र कञ्चनपुरको कृष्णपुर नगरपालिका भित्रका विद्यालयहरुले सहभागीता जनाउन सक्ने आयोजकले आज पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ ।
प्रतियोगितामा प्रथम हुने टिमले दश हजार रुपैँया, मेडल ,ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ । दोस्रो हुने टिमले ५ हजार रुपैँया संगै मेडल ,ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै प्रतियोगितामा तेस्रो हुने टिमलाई ३ हजार रुपैँया मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरीने आयोजकले जनाएको छ ।
































