
डोटी – डोटीको सिलगढीमा शनीबार देखीे सुरु भएको खप्तड–शैलेश्वरी अन्तर विद्यालय खेलकुद प्रतियोगिता २०७९ सम्पन्न भएको छ । सिलगढी स्थीत भैरव प्रसाद गण र जिल्ला स्तरीय बाल संजालले आयोजना गरेको प्रतियोगिता आज सम्पन्न भएको हो ।प्रतियोगितामा फुटबल तर्फ १० टिम, छात्रा कबड्डीतर्फ ८ टिम र चित्रकला प्रतियोगिता तर्फ १० विद्यालयका १–१ जना विद्यार्थीहरु सहभागि रहेका थिए ।


जसमध्य फुटबल र कबड्डीमा पद्मा पब्लिक मुक्तिनारायण माध्यमिक विद्यालयले जित हाँसील गरेको छ । पद्मा पब्लिक मुक्तिनारायण मा वि ले फुटबलतर्फ सुजङ्ग ईंग्लिस बोर्डिङ्ग स्कुललाई १–० ले पराजित गरेको हो भने कबड्डीतर्फ पवित्र बोर्डिङ्ग स्कुललाई ७४–४४ ले पराजित गर्दै प्रथम स्थान लिन सफल भएको हो । प्रतियोगितामा फुटबल र कबड्डीमा विजेता बनेसंगै पद्मा पब्लिक मुक्तिनारायण माध्यमिक विद्यालयले रु १५÷१५ हजार नगद, प्रमाणपत्र र ट्रफि प्राप्त गरेको छ ।त्यस्तै फुटबलतर्फ उपविजेता बनेको सुजङ्ग ईंग्लिस बोर्डिङ्ग स्कुल र कबड्डीतर्फ उपविजेता बनेको पवित्र बोर्डिङ्ग स्कुलले १० ÷१० हजार नगद, प्रमाणपत्र र ट्रफि प्राप्त गरेका छन् ।

चित्रकला प्रतियोगितामा तेडि मा विका छात्र आषिक साँउद प्रथम भएका छन् भने पद्मा पब्लिक मुक्तिनारायण मा विका डायमण्ड ओली द्धितिय भएका छन् । चित्रकला प्रतियोगितामा प्रथम भएका साँउदले रु ३ हजार नगद सहित प्रमाणपत्र प्राप्त गरेका छन् भने द्धितिय भएका ओलीले १ हजार रुपैँया नगद प्राप्त गरेका छन् । त्यस्तै फुटवल तर्फ बेस्ट प्लेयर बन्न सफल सुजुङ्ग ईंग्लिस बोर्डिङ्ग स्कुलका दिपेन्द्र भुल र कबड्डीतर्फ बेस्ट प्लेयर हुन सफल भएकी पद्मा पब्लिक मुक्तिनारायण मा.वि.की दिपा बिष्ट लाई बेस्ट प्लेयर ट्रफि तथा प्रमाणपत्र प्रदान गरिएको छ । प्रतियोगितामा फुटवलमा फेयर प्ले अवार्ड मोर्निङ्ग लाईट ईंग्लिस बोर्डिङ्ग स्कुल तथा कबड्डीमा पवित्र बोर्डिङ्ग स्कुलले प्राप्त गरेको छ । प्रतियोगिताको शनीबार एक कार्यक्रमकाबिच भैरव प्रसाद गणका गणपति प्रमुखी सेनानी जनमत बहादुर कार्कीले उद्घाटन गरेका थिए ।

३०१ औं पृथ्वी जयन्ती तथा एकता दिवसको अवसरमा सिलगढी स्थित टुडीखेलमा सुरु भएको उत्त प्रतियोगिताको प्रायोजन दिपायल सिलगढी नगरपालीका वडा नम्बर ६ को कार्यालयले गरेको थियो । श्री नं ५ वाहिनी अड्डाका वाहिनी पति सहायक रथी दिपेश जंग शाहको प्रमुख आतिथ्यमा आज भएको समापन कार्यक्रममा भैरव प्रसाद गणले विभीन्न नृत्यहरु समेत प्रस्तुत गरेको थियो । भैरव प्रसाद गणका गणपति जन्मत बहादुर कार्कीले प्रतियोगतिा सम्पन्न गर्ने सम्पुर्णलाई धन्यवाद व्यक्त गर्दै प्रतियोगितामा सहभागी खेलाडीहरुको उज्वल भविष्यको कामना गरेका छन् ।















