कृष्णपुर नगरपालिकाद्वारा कृषकलाई ५० प्रतिशत अनुदानमा बिउ वितरण

Image
maya metro

धनगढी – कृष्णपुर नगरपालिकाको कृषि विकास शाखाले किसानलाई ५० प्रतिशत अनुदानमा बिउ वितरण गरेको छ। सोमवार कृष्णपुर नगरपालिका वडा नम्बर २ को बनारा खल्ला शिविरमा एक औपचारिक कार्यक्रम गरेर बगर खेती गर्ने किसानहरूलाई नगरप्रमुख हेमराज ओझा ,उपप्रमुख द्रोपती राना र वडा अध्यक्ष अर्जुन साउँदले संयुक्त रूपमा बिउ वितरण गरेका हुन् । बिउ वितरण पश्चात नगरप्रमुख ओझाले किसानहरुको जीवनस्तर सुधारका लागि नगरपालिकाले विभिन्न सहयोगका कार्यक्रम ल्याउने बताए।

नगरप्रमुख ओझाले बेमौसमी तरकारी सहजै उपलब्ध नहुने, उपलब्ध भैहाले अत्याधिक महंगो मूल्यमा उपभोक्ताले खरिद गर्नुपरेको भन्दै वडा न १,२ र ३ का किसानहरूलाई लक्षित गरेर छिट्टै मिनि कोल्ड स्टोर निर्माण गर्ने र समग्र कृष्णपुरबासीका लागि बढी क्षमताको कोल्ड स्टोर बनाउने योजना रहेको बताए।

nisarga

नगरप्रमुख ओझाले हिजोको दिनमा बगरखेती सम्पुर्ण भारतीयले गर्ने भए पनि अहिले आफ्नै नेपाली दाजुभाइ दिदीबहिनीहरु बगरखेतीमा संलग्न रही आयआर्जन बढेको बताए।

अब किसान दाजुभाइहरुले मौसमी खेती मात्र नभइ बेमौसमी खेती गर्न तयार हुनुपर्छ,’ उनले भने, ‘त्यसका लागि किसानलाई आवश्यक पर्ने मलखाद एवं बिउ अनुदानमा नगरपालिका उपलब्ध गराउन तयार रहेको छ।’

यस्तै, उपप्रमुख द्रोपती रानाले नगरपालिका किसानको हितमा रहेर काम गरिरहेको बताइन्। उनले विषादीयुक्त तरकारीको बढ्दो प्रयोगले हाम्रो स्वास्थ बिग्रिदै गइरहेको भन्दै विषादी रहित तरकारी उत्पादन गर्न किसानलाई आग्रह गरिन्। वडा अध्यक्ष अर्जुन साउँदले वडाको समग्र विकासका लागि आफूले सक्दो पहल गरिरहेको बताए। उनले तरकारी खेती समय गुजार्ने गरि गर्नु भन्दा पनि आयआर्जनको माध्यम बनाउने गरि अगाडि बढ्नुपर्ने बताए।
बगरखेतीका लागि आवश्यक पर्ने बिउ भावना कृषक समूह, कल्पना कृषक समूह, जनचेतना कृषक समूह र सम्झना कृषक समूहलाई वितरण गरिएको हो ।कृष्णपुरका वडा न २, ३, ७, ८ र ९ मा किसानले बगर खेती गर्दै आएका छन्।
कार्यक्रममा नगर उपप्रमुख द्रोपती राना, वडा न २ का अध्यक्ष अर्जुन साउँद, कृष्णपुर नगरपालिका कृषि शाखा प्रमुख लालबहादुर धामी, वडा न २ का सदस्य राजु सिंह र जित चौधरीलगायत बनारा खल्ला शिविरका किसानहरुको उपस्थिति रहेको थियो ।