
बैतडी – फागुन १३ गते चौलानी नदीमा मृत फेला परेका बैतडीको दशरथचन्द नगरपालिका १० का २५ वर्षीय जीवन बुडाल मृत्यु प्रकरणमा मुछिएका चार जनालाई पूर्वक्षका लागि कारागार चलान गरिएको छ । तीन जनालाई जनही १ लाख ५० हजार र दुई जनालाई ५० हजार धरौटीमा रिहा गरिएको छ । त्यसैगरी तीन जनालाई सामान्य तारीखमा छोडिएको छ । बिहिबार जिल्ला अदालत बैतडीले यस्तो आदेश दिएको छ ।
दशरथचन्द नगरपालिका १० कै गजेन्द्र सिंह रावल, अर्जुन सिंह रावल, भीम सिंह ठगुन्ना र नारायण सिंह ऐरीलाई पूर्वक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । यसैगरी पुष्पराज भट्ट, टेक सिंह खत्री र जितेन्द्र सिंह ऐरीलाई जनही १ लाख ५० हजार धरौटीमा रिहा भएका छन् । श्यामु सिंह ऐरी र नविन सिंह ठगुन्ना जनही ५० हजार धरौटीमा छुटेका छन् ।

केशव सिंह रावल, मोहन सिंह ठगुन्ना र भुवन राम लुहारलाई सामान्य तारेखमा रिहा गरिएको छ । शरथचन्द नगरपालिका–१० खडेनीका २५ वर्षीय बुडाल फागुन १३ गते मृत फेला परेका थिए । साथीहरुसँगै बनभोज मनाउन गएका बुडाल मृत फेला परेपछि आफन्तहरुले घटनाको यथासीघ्र छानबिन हुनुपर्ने माग राख्दै संघर्ष समेत गरेका थिए । त्यसपछि प्रहरीले १२ जनालाई पक्राउ गरी अनुसन्धान गरेको थियो ।


















