दिल्लीका विद्यालयको अवलोकन गर्दै धनगढी उमहानगरको टोली

Image
maya metro

नयाँ दिल्ली – धनगढी उपमहानगरपालिकाको शिक्षा शाखाका कर्मचारी, विभिन्न विद्यालयका प्रधानाध्यापक, कार्यपालिका र शिक्षा समितिका सदस्यहरुसहितको टोलीले भारतको राजधानी नयाँ दिल्लीस्थित सामुदायिक विधालयको अवलोकन थालेको छ । टोलीले पहिलो दिन यहाँका तीन वटा सामुदायिक विद्यालयको अवलोकन गरेको छ । सहीद हेमू कालाणी सर्वोदय बालविद्यालय, सोही विद्यालयभित्र छुट्टै सञ्चालन भइरहेको दिल्ली मोडेल भर्चुअल स्कूल र गभर्मेन्ट ब्वाइज एसआर सेकेण्डरी स्कूलको अवलोकन गरेको हो । अवलोकन टोलीले यी विद्यालयहरुमा भौतिक पूर्वाधारको अवस्था, शिक्षण सिकाइ क्रियाकलाप, व्यवस्थापनलगायत विषयमा प्रधानाध्यापक र शिक्षकहरुसँग छलफलसमेत गरेको छ ।कक्षाकोठामा विद्यार्थीको भौतिक उपस्थितिविना दिल्ली मोडेल भर्चुअल स्कूलले कसरी पठनपाठन गरिरहेको छ भनेर टोलीले विद्यालयका प्रधानाध्यापकसँग छलफल गर्नुका साथै पठनपाठनका क्रममा अपनाउने गरिएको प्रविधिबारेमा पनि जानकारी लिएको छ ।

यो विद्यालयमा पूर्णतया भर्चुअल माध्यमबाट पठनपठान गर्ने गरिन्छ । विद्यार्थी आफूलाई फुर्सद भएको समयमा अनलाइनबाट कक्षा लिनसक्ने व्यवस्था गरिएको छ । दिल्ली मोडेल भर्चुअल स्कूलका प्रधानाध्याक बिके शर्माले विद्यालयमा नियमित उपस्थित हुन नसक्ने विद्यार्थीलाई लक्षित गरेर भर्चुअल माध्यमबाट पठनपाठन हुने गरेको बताए । पारिवारिक समस्या भएका, क्रिकेटलगायत खेलकुद एकेडेमीमा भर्ना भएर नियमित विद्यालय आउन नसक्ने बालबालिकाका लागि आफूलाई फुर्सद भएको जुनसुकै बेला पनि कक्षा लिनसक्ने व्यवस्था गरिएको उनले जानकारी दिए । ,कुनै दिन भर्चुअल कक्षा छुटे बालबालिकाले आफूलाई फुर्सद भएको बेला हेर्न सक्ने गरी भर्चुअल कक्षाको रेकर्ड सामग्री पअिनलाइनमा राख्छौँ ।, प्रधानाध्यापक शर्माले भने, ,हामी पठनपाठनमात्र गर्दैनौँ, विद्यार्थीलाई करिअर काउन्सेलिड. पनि गराउँछौँ ।, उपमहानगरको टोलीसँग छलफलका क्रममा गभर्मेन्ट ब्वाइज एसआर सेकेण्डरी स्कूलका सहायक प्रधानाध्यापक आरएम चित्रान्सीले विद्यार्थीको सर्वाड्गिण विकासलाई ध्यानमा राखेर वार्षिक रुपमा विभिन्न कार्यक्रम गर्ने गरेको जानकारी दिए । ,कुनै पनि कार्यक्रम दिगो विकास र विद्यार्थीको सर्वाड्गिण सामाजिक विकासलाई ध्यानमा राखेर सञ्चालन गर्छौँ । यस्ता नयाँ कार्यक्रमहरु केही विद्यालयमा परीक्षणको रुपमा लागू हुन्छ र सफल देखिए सबै विद्यालयमा लागू गर्ने व्यवस्था दिल्लीमा छ ।, उनले भने, ,हामी पठनपाठनमा भन्दा विद्यार्थीको सिकाइमा जोड दिन्छौँ । पढेलेखेर विद्यार्थी केही बनोस् भन्नेमा केन्द्रीत हुन्छौँ ।, यहाँको सरकारले विद्यालयको अनुगमन र निरीक्षणलाई उच्च प्राथमिकता दिने गरेको उनले बताए ।

nisarga

दिल्लीस्थित शिक्षा निर्देशनालयका डेलिगेसन कोओर्डिनेटर भावना सवनानीले चार वटा विषय, पूर्वाधारमा रुपान्तरण, अभिभावकको सहयोग, पाठ्यक्रम परिवर्तन र शिक्षकको दक्षता अभिवृद्धिलाई प्राथमिकता दिएर काम गरेपछि केही वर्षको अन्तरालमै दिल्लीका सामुदायिक विद्यालयको शैक्षिक अवस्थामा आमुल परिवर्तन आएको जानकारी दिइन् । उपमहानगरको टोलीसँगको अन्तक्रियाका क्रममा उनले सरकारले सुरुमा सामुदायिक विद्यालयलाई निजि विद्यालयजस्तै सुविधा सम्पन्न बनाउन भवनलगायत पूर्वाधार निर्माणलाई पहिलो प्राथमिकता दिएको बताइन् । ,सामुदायिक विद्यालयका भवनको अवस्था राम्रो थिएन । निजि विद्यालयको भवनसँग तुलना गरेर सामुदायिक विद्यालयका विद्यार्थीमा हिनता भाव नआओस भनेर सरकारले सबैभन्दा पहिले सरकारी विद्यालय भवन र अरु पूर्वाधार सुविधा सम्पन्न बनायो । विद्यालय सुधारमा अभिभावकको सहयोग लिन थाल्यो । हामीले हाम्रा पाठ्यक्रममा परिवर्तन गर्यौँ ।, उनले भनिन्, ,पठनपाठनका नयाँनयाँ प्रविधि, ज्ञान, सीपको विकास र पेशागत क्षमता अभिवृद्धिका लागि यहाँको सरकारले सामुदायिक विद्यालयका शिक्षकलाई सिंगापुर, क्यानडालगायत विकसित मुलुक भ्रमणको व्यवस्था गर्यो । विदेशको सिकाइ हाम्रा विद्यालयमा लागू गर्यौँ ।, नयाँनयाँ प्रविधि, ज्ञान, सीपको आदानप्रदानका लागि दिल्ली सरकारले अहिले पनि शिक्षकहरुलाई बर्षेनि विदेश र अन्तरप्रदेश भ्रमण गराउने गरेको उनले जानकारी दिइन् । भारतको राजधानी दिल्लीमा अरबिन्द केजरीवालको सरकार आएपछि दशकयता सामुदायिक विद्यालयको शैक्षिक अवस्थामा आमुल परिवर्तन भएको छ । दिल्लीको शैक्षिक सुधार केजरीवाल मोडेलका रुपमा चर्चित छ ।

कक्षाकोठाको व्यवस्थापन, फर्निचर, स्मार्टबोर्ड, प्रयोगशाला, पुस्तकालय, स्वीमिड.पुल, खेलकुद सुविधा आदिले यहाँका विद्यालयहरु सुसज्जित छन् । ट्याब, ल्यापटपसहित शैक्षिक सामग्री सरकारले उपलब्ध गराउँछ र निजि विद्यालयजत्तिकै सुविधा र गुणस्तर भएका सरकारी विद्यालयमा शिक्षा पूर्णरुपमा निशुल्क छ । धनगढी उपमहानगरको शैक्षिक सुधारमा सहयोग पुगोस् भनेर नगरभित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापक र शिक्षकलाई दिल्लीका विद्यालयको अवलोकनको व्यवस्था गरिएको उपमहानरको शिक्षा महाशाखा उपसचिव प्रमुख नरेन्द्रबहादुर खातीले बताए । ,यहाँको सिकाइबाट हाम्रा विद्यालयको शैक्षिक अवस्था सुधारमा मद्दत पुगोस् भन्ने उद्देश्यले हामी दिल्लीका विद्यालय अवलोकनमा आएका हौँ ।, महाशाखा प्रमुख खातीले भने, ,उपमहानगरले नगरभित्रको समग्र शैक्षिक सुधारलाई प्राथमिकता दिएर काम गरिरहेको छ ।, टोलिले आज दिल्लिस्थित शिक्षा निर्देशनालयका अधिकारीसङ्ग छलफल गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए । धनगढी उपमहानगरका उपप्रमुख कन्दकलाकुमारी रानाको नेतृत्वमा आएको अवलोकन भ्रमण टोलीमा विभिन्न विद्यालयका प्रधानाध्यापकसहित ३५ जना सहभागी छन् । अवलोकन टोलीमा सहभागी शिक्षकहरुलाई दिल्लीका विद्यालय भ्रमणका क्रममा भएको सिकाइलाई व्यवहारमा लागू गरेर विद्यालय सुधारको प्रयास गरिने प्रतिवद्धता जनाएका छन् ।