
अत्तरिया – कैलालीको एक विद्यालयमा ग्रहशान्तिका लागि पूजा लगाइएको छ । कैलालीको घोडाघोडी नगरपालिका – ४ ,रामपुरस्थित राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत छात्रामा अनौठो खालको रोग देखापरेपछि कक्षाकोठाभित्रै ग्रह शान्ति पूजा गरिएको हो ।
६ देखि १० कक्षा पढ्ने अधिकांश छात्रामा बेहोस हुने, कराउने र बर्बराउने समस्या देखिएको विद्यालय सञ्चालक समितिका अध्यक्ष बमबहादुर सिंहले बताए ।

धामीले ग्रहदशा बिग्रेर विद्यार्थी विरामी परेको बताएपछि विद्यालयले पुरोहित बोलाएर विद्यालयमै ग्रहशान्ति पूजा गराएको अध्यक्ष सिंहले जानकारी गराए । छात्राहरुमा देखिएको उक्त अनौठो समस्या समाधानका लागि विभिन्न उपाय अपनाउँदा पनि ठिक नभएपछि सबैको सुझाव अनुसार शान्तिपूजा लगाइएको उनले बताए ।
चिकित्सकका अनुसार कुनै देवीदेवता वा पिचासका कारणले नभई मानसीक तनावका कारण किशोरावस्थाका केहीमा यस्तो समस्या देखापर्छ ।
कन्भर्शनल डिसअर्डरले प्राय किरोरीहरु प्रभावित हुने गरेको र २० बर्ष उमेर पार गरेपछि समस्या आफै हराउने गर्छ । चिकित्सक वा विशेषज्ञबाट परामर्श लिएर आवश्यक उपचार गर्नुपर्ने चिकित्सकको सुझाव छ । तर विद्यालयका शिक्षक र अभिभावक भने मनोपरामर्श शिक्षा दिनुको सट्टा पूजा लगाउने, झाँक्री बोलाउने जस्ता अन्धविश्वासमा पर्ने गरेका छन् ।



















