
काठमाडौं – नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेको छ । नीतिमा घरजग्गामा बैंकहरुबाट प्रवाह हुने कर्जामा राष्ट्र बैंकले केही लचिलो नीति लिने संकेत गरेको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ का लागि सार्वजनिक गरेको मौद्रिक नीतिमार्फत पहिलो आवासीय घर कर्जाको सीमा १ करोड ५० लाखलाई वृद्धि गरी २ करोड पुर्याइएको छ ।
त्यस्तै घरजग्गा कर्जाको जोखिमभारलाई घटाउने संकेत मौद्रिक नीतिमा उल्लेख गरिएको छ । यस्तै सेयर धितो कर्जा, रियल स्टेट कर्जा तथा हायर पर्चेज कर्जाका विद्यमान जोखिम भारसम्बन्धी व्यवस्था पुनरावलोकन गरिने मौद्रिक नीतिमा उल्लेख छ । हाल यस्तो जोखिमभार १५० प्रतिशत छ । यसको अर्थ अब बैंकहरुले घरजग्गामा कर्जा दिँदा कर्जा रकमको १५० प्रतिशत रकम जोखिम व्यवस्थापन गर्नुपर्नेछ । यसैलाई घटाउने राष्ट्र बैंकले स्पष्ट संकेत गरेको छ ।

हाल जोखिमभार १५० प्रतिशत हुँदा घरजग्गामा जाने कर्जा निरुत्साहन गरेको भन्दै खुकुलो नीति लिन राष्ट्र बैंकलाई दवाव परेको थियो । जोखिम भार १०० प्रतिशतमा झार्न घरजग्गा व्यवसायीले माग गर्दै आएका छन् ।













