
काठमाडौं – गत आर्थिक वर्ष ०७९/८० मा नेपालले साढे १४ खर्बभन्दा बढीको व्यापार घाटा बेहोरेको छ।
भन्सार विभागले आज (सोमबार) सार्वजनिक गरेको गत आर्थिक वर्षको वैदेशिक व्यापारसम्बन्धी विवरणअनुसार गत असार मसान्तसम्ममा नेपालले कुल १४ खर्ब ५४ अर्ब ५९ करोड १० लाख रुपैयाँ बराबरको व्यापार घाटा बेहोरेको देखिएको हो।

अघिल्लो वर्षको तुलनामा भने व्यापार घाटा १५ दशमलव ४५ प्रतिशतले घटेको छ। अघिल्लो आर्थिक वर्ष ०७८/७९ मा नेपालले कुल १७ खर्ब २० अर्ब ४१ करोड ७३ लाख रुपैयाँ बराबरको व्यापार घाटा बेहोरेको थियो।
अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्ष नेपालको समग्र वैदेशिक व्यापारसमेत १६ दशमलव ५८ प्रतिशतले घटेको छ। अघिल्लो आर्थिक वर्षमा २१ खर्ब २० अर्ब ४७ करोड ७३ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार भएकोमा गत वर्ष भने १७ खर्ब ६८ अर्ब ८७ करोड २४ लाख रुपैयाँमा सीमित भएको देखिएको हो।
विभागको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष मुलुकले कुल १६ खर्ब ११ अर्ब ७३ करोड १७ लाख रुपैयाँ बराबरको मालवस्तु आयात गर्दा १ खर्ब ५७ अर्ब १४ करोड ६ लाख रुपैयाँ बराबरको मात्रै निर्यात गरेको छ।
अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष आयात १६ दशमलव ०८ र निर्यात २१ दशमलव ४४ प्रतिशतले घटेको छ।
गत आर्थिक वर्ष नेपालले गरेको कूल वैदेशिक व्यापारमा आयातको हिस्सा ९१ दशमलव १२ प्रतिशत र निर्यातको हिस्सा ८ दशमलव ८८ प्रतिशत बराबर छ। अर्थात् नेपालले गरेको कूल निर्यातको तुलनामा कूल आयात १० दशमलव २६ गुणाले बढी हो।
गत वर्ष आयातित वस्तुबाट कूल ३ खर्ब ७७ अर्ब २६ करोड ४ लाख रुपैयाँ बराबरको भन्सार राजस्व उठेको छ।
बढी आयात हुने वस्तुमा पेट्रोलियम पदार्थ पहिलो नम्बरमा देखिएको छ। गत वर्ष नेपालले सबैभन्दा धेरै १ खर्ब ५३ अर्ब ७७ करोड रुपैयाँ बराबरको डिजेल मात्रै आयात गरेको छ।
६६ अर्ब ८४ करोड ४८ करोड रुपैयाँ बराबरको पेट्रोल र ५८ अर्ब १५ करोड ४१ लाख रुपैयाँ बराबरको खाना पकाउने ग्यास आयात भएको छ।
फलामजन्य वस्तुको आयातमा ४३ अर्ब ६० करोड रुपैयाँ, कच्चा सोयाबिन तेल आयातमा ३५ अर्ब ५८ करोड रुपैयाँ, कोइला आयातमा २७ अर्ब १२ करोड रुपैयाँ र कच्चा पाम तेल आयातमा २५ अर्ब ९१ करोड रुपैयाँ बराबर बाहिरिएको देखिन्छ।
बढी निर्यात भएका वस्तुमा कार्पेट पहिलो नम्बरमा छ। गत आर्थिक वर्ष नेपालले ११ अर्ब ५० करोड ६६ लाख रुपैयाँ बराबरको कार्पेट निर्यात गरेको छ।
१० अर्ब ७१ करोड रुपैयाँ बराबरको प्रशोधित पाम तेल, ८ अर्ब ४७ करोड रुपैयाँ बराबरको सोयाबिन तेल र ८ अर्ब २७ करोड रुपैयाँ बराबरको अलैँची निर्यात गरेको छ।
दैनिक चार अर्ब व्यापार घाटा
व्यापारमा निर्यातको हिस्सा कम हुँदा गत आवमा नेपालले दैनिक चार अर्ब रुपियाँ बराबरको व्यापार घाटा बेहोर्नु परेको पाइएको छ । गत आवमा नेपालको व्यापार घाटा १४ खर्ब ५४ अर्ब रुपियाँ नाघेको छ । कुल व्यापार घाटालाई एक वर्षको अनुपातसँग गणना गर्दा दैनिक घाटा चार अर्ब हाराहारी पुग्ने देखिन्छ ।













