
धनगढी – धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले कक्षा ८ को वार्षिक परीक्षामा कोही पनि विद्यार्थी पास नभएका विद्यालयलाई शैक्षिक सामग्री सहयोग गरेका छन् ।
मेयर हमालले सेवा सुविधा वापत उपमहानगरपालिकाबाट पाएको रकममा केही पैसा थपेर परीक्षामा ‘शून्य’ नतिजा ल्याएका १७ विद्यालयलाई शैक्षिक सामग्री सहयोग गरेका हुन् । पालिकाका १७ विद्यालय कक्षा ८ को परीक्षामा नील भएका थिए ।

हमालले बिहीबार औपचारिक कार्यक्रम आयोजना गरेर ९ लाख ९२ हजार ६२० रुपैयाँ बराबरका शैक्षिक सामग्री सम्बन्धित विद्यालयका प्राध्यानाध्यापकहरुलाई हस्तान्तरण गरे ।
१७ विद्यालयमा अध्ययनरत ३ हजार ४ सय ८९ विद्याथीहरुका लागि मेयर हमालले २० हजार ९ सय ३४ थान कपि, १३ हजार ९ सय ५६ थान पेन्सील, ६ हजार ९ सय ७८ थान कटर र ६ हजार ९ सय ७८ थान ईरेजर हस्तान्तरण गरेको उनको निजी सचिवालयले जनाएको छ ।



















