

अत्तरिया – एक समय थियो छोरा र छोरी दुवैलाई विद्यालय पठाउ भनेर सरकारीदेखी विभीन्न निजी संघ सँस्थाले जनचेतना जगाँउदै हिँड्थे । छोराछोरी दुवै बराबरी भएकाले विभेद गर्न हुँदैन,दुवैलाई विद्यालय पठाउनु पर्छ भन्दै जनचेतनाको विगुल फुकिन्थ्यो । अहिले आएर त्यो अवस्था केहि फेरीएको छ । अभिभावकले छोरा र छोरी दुवैलाई विद्यालय प्राय पठाँउछन् । तर विभेदको स्वरुप परिवर्तन गरेर ।
छोरा र छोरी दुवैलाई विद्यालय पठाउनुपर्छ भन्नेमा अभिभावक सचेत देखीएपनी शिक्षामा चरम लैंगिक विभेद रहेको देखीएको छ । अधिकांश अभिभावकहरुले निजी र सरकारीको तुलना गरी छोरा छोरी पढाउने गरेको तथ्यांकले देखाएको छ । नेपालमा शैक्षीक,भौतिक गुणस्तरको हिसाबले निजी विद्यालय नै अगाडी रहेको पाईन्छ भने सन्तान निजीमा पढाए ठुलो मान्छे बन्छ भन्ने नेपालीमा अनौठो रोग छ । जबकी शिक्षक विद्यार्थी र अभिभावकले निजीमा जत्तिकै मिहेनत सरकारी विद्यालयमा पनी गर्ने हो भने सरकारी विद्यालयको गुणस्तर सुधारकालागी लामो समय पर्खीनु नपर्ला ।
कैलालीको गोदावरी नगरपालीकाको शिक्षा शाखाको आँकडा बमोजिम निजी र महंगा विद्यालयमा छोराको वर्चस्व रहेको पाईएको छ । गोदावरी नगरपालीका भित्रका सरकारी विद्यालयमा कक्षा १० सम्म १७ हजार १७५ जना जम्मा विद्यार्थी रहेकोमा ९ हजार ४६ जना छात्रा रहेका छन् भने ८ हजार १२९ जना छात्र अध्ययनरत रहेका छन् । नगरपालीकाका निजी विद्यालयमा १५ हजार ८८६ जना जम्मा विद्यार्थी रहेकोमा ९ हजार ७८५ जना छात्र छन् भने ६ हजार १०१ जना मात्रै छात्रा अध्ययनरत रहेका छन् । अत्तरिया क्षेत्रमा सबैभन्दा बढी विद्यार्थी अध्ययनरत रहेको निजी विद्यालय सत्यवती एकेडेमी हो ।

विविध खालका सुविधा रहेको यो विद्यालयको शुल्क पनी महंगो नै छ । यहाँ कक्षा १२ सम्म १ हजार ७५४(कक्षा ११ बाहेक) जना विद्यार्थी रहेकोमा १ हजार १०४ जना छात्रको संख्या छ भने ६५० जना मात्रै छात्रा रहेका छन् । उत्त तथ्यांक अनुसार सत्यवती एकेडेमीमा छात्रको संख्या झण्डै दोब्बरले बढी छ । त्यस्तै गोदावरी नगरपालीका वडा नम्बर २ मा रहेको सैनीक आवासीय महाविद्यालयमा ५८९ जना जम्मा विद्यार्थी संख्या रहेकोमा ४१६ जना छात्र छन् भने १७३ जना मात्रै छात्र रहेको गोदावरी नगरपालीकाको शिक्षा शाखाको तथ्यांकमा उल्लेख गरीएको छ ।
सैनीक आवासीय महाविद्यालयमा कक्षा ६ देखी १२ सम्म पठनपाठन हुँदै आएको छ । गोदावरी नगरपालीका वडा नम्बर १ मा रहेको अर्को निजी विद्यालय होलिल्यान्ड मा वि मा जम्मा १ हजार १३० जना विद्यार्थी रहेकोमा ७१५ छात्रको संख्या छ भने ४१५ छात्रा रहेका छन् । त्यस्तै सरकारी विद्यालयमै पनी बजार क्षेत्रका विद्यालयमा छात्रको संख्या बढी रहेको देखीन्छ भने ग्रामिण भेकका विद्यालयमा छात्राको संख्या उल्लेख्य देखीन्छ । गोदावरी नगरपालीका वडा नम्बर २ स्थीत अत्तरियाको दुर्गालक्ष्मी नमुना मा वी मा छात्रको संख्या बढी छ भने बढी विद्यार्थी संख्या रहेका वडा नम्बर ६ को शैलेशवरी मा वी र वडा नम्बर ८ को समैजी मा वी मा छात्राको संख्या बढी छ ।
भुगोलका हिसाबले दुर्गालक्ष्मी बजार क्षेत्रमा रहेको छ । यो विद्यालयको शैक्षीक गुणस्तर पनी राम्रो रहेको छ भने भौतिक हिसाबले पनी सम्पन्न नै छ । शैलेश्वरी र समैजी मा वी भुगोलका हिसाबले ग्रामिण भेगमा छन् । शैलेश्वरी मा वि मा जम्मा ८७१ जना विद्यार्थी रहेकोमा ५१४ जना छात्रा मात्रै छन् । छात्रको संख्या यहाँ ३५७ मात्रै छ । समैजी मा वि मा कक्षा १० सम्म ९९९ जना विद्यार्थी रहेका छन् । जसमध्य ५४४ जना छात्रा छन् भने ४४५ जना छात्र अध्ययनरत रहेका छन् । नगरपालीकामा ५२ ओटा सरकारी विद्यालय रहेका छन् भने ३० ओटा निजी विद्यालय छन् ।
दुर्गालक्ष्मी नमुना मा वि का प्रधानाध्यापक शिवराज जोशीका अनुसार विद्यालयमा संख्यामा मात्रै नभई छोरा र छोरीको लवाईखवाईमा पनी चरम लैंगिक विभेद देखीने गरेको छ । एउटै घरका छोरा र छोरीले लगाउने लुगा,जुत्ता,झोलामा मात्रै होईन प्रयोग गर्ने अभ्यास पुस्तीका समेत सस्तो र महंगो दिईन्छ जोशीले भने । “ ठुला कक्षामा पढ्ने छात्राहरुले जिद्धि गरेरै भएपनी माग्छन् तर यो अवस्था साना बालबालीकामा बढी देखीन्छ”उनले भने । समैजी मा वि की प्रधानाध्यापक कुन्ती ओली अझै पनी विभेद कायम रहेको बताँउछीन् ।
“ मैले पनी कहिलेकाँहि छात्राहरुसंग बुझ्ने गर्छु उनीहरुले दाजुभाइलाई काममा नपठाउने तर आफुहरुले सबै धन्दा भ्याउनुपर्छ भन्ने गुनासो गर्छन्, ओलीले भनीन् कतिपय छात्राहरुले दाजुको लुगा समेत आफुले धुनुपर्छ भन्ने दुखेसो पोख्छन् । ”सत्यवती एकेडेमीका सञ्चालक विर बहादुर कडायत पछील्लो समय नदेखीदो तरीकाले गरिदै आएको विभेद स्वीकार्न आफु बाध्य भएको बताँउछन् ।
निजी र सरकारी विद्यालयको तुलना गरी पठाउने मानसिकता गाँउघरतिर बढी रहेको उनको भनाई छ । “अहिलेको समयमा पनी यस्तो धारणा अभिभावकमा पाईनु हाम्रालागी दुखद हो” उनले भने । छोरालाई निजी र छोरीलाई सरकारी विद्यालय पढाउनेमा शिक्षित भनिएका अभिभावक समेत उल्लेख्य रहेको जानकारहरुको भनाई छ ।
