बाढी बिमा कार्यक्रमबाट गोदावरीका २३१ किसान लाभान्वित

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ८ र ९ मा लागु भएको बाढी बिमा कार्यक्रमबाट २३१ जना किसान लाभान्वित भएका छन् । गोदावरी – ८ जमुनानगरमा रहेको एकता प्रगतिशील सहकारीले गरेको बाढी बिमाबाट वडा नम्बर ८ र ९ का २३१ किसान लाभान्वित भएका हुन् । एकता प्रगतिशील बचत तथा ऋण सहकारी सँस्था लिमिटेडले युएसएआइडीको तयार नेपाल परियोजनाको आर्थिक सहयोगमा सञ्चालित सूचकाङ्कका आधारमा बाढी बिमा कार्यक्रम अन्र्तगत स्टोनस्टेप, प्राक्टिकल एक्सन, शिखर इन्स्योरेन्स कम्पनी सँगको साझेदारीमा पाइलट परियोजनाका रुपमा धान बालिमा बाढी बिमा गरेको थियो ।

उक्त परियोजना गोदावरीमा पहिलो पटक लागू भएको हो । परियोजना पहिलो पटक खुटिया नदीको बाढी प्रभावित क्षेत्र गोदावरी नगरपालिका वडा ८ र ९ मा देखि सूचकाङ्कका आधारमा बाढी बिमा कार्यक्रम लागू गरीएको थियो । एक कठ्ठा धान बालीको बाढी बिमा रकम पाएकी वडा नम्बर ८ स्याउलेकी जानकी चौधरीले बाढी बिमा सहज र फाईदाजनक भएकोले अर्को वर्ष सबै धानबालीको बिमा गर्ने बताईन् । “पहिलो पटक झन्झटीलो हुने होकी भन्ने सोचेर एक कठ्ठा मात्रै गरे उनले भनीन् कृषककालागी धेरै फाईदाजनक रहेछ अर्को बढाँउछु ।” खुटिया नदीमा पहाडी भेगतिर पानी पर्दा एक्कासी बाढी आउने सम्भावना हुने भएकोले आफुहरुलाई उत्त बिमा निकै उचित भएको उनको भनाई छ ।

खुटिया नदीमा पानीको मापन गर्न जडित जलमापन केन्द्रको तथ्याङ्कलाई आधार मानेर किसानलाई क्षतिपुर्ती दिने गरिएको एकता प्रगतिशिल सहकारीका ऋण सहायक लक्ष्मण बोगटीले जानकारी दिए । “यस परियोजना अन्तरगत किसानको बाढी बिमाको प्रिमियम एकता प्रगतिशील सहकारीको खाता मार्फत नै तिर्ने गरीन्छ, बोगटीले भने क्षतिपुर्ती बापतको रकम पनि सोही खातामा उपलब्ध हुन्छ ।” नदीमा साढे ४ मिटर देखि ५ मिटर पानीको मापन भए १० प्रतिशत, ५ दशमलव ०१ देखि साढे ५ मिटर पानीको मापन भए २५ प्रतिशत, साढे ५ दशमलव ५१ देखि ६ मिटर पानीको मापन भए ६५ प्रतिशत र ६दशमलव ०१ देखि माथि मापन भए १०० प्रतिशत क्षतिपुर्ती भुक्तानी गर्ने मापदण्ड तय गरिएको बोगटीले बताए ।

जल मापनका लागि गोदावरी ९ स्थीत मुरिभावरमा जल मापन यन्त्र जडान गरेको छ । असार १४ गते गोदावरी ८ र ९ को खुटिया नदीमा ४ दशमलव ५५ मिटर र साउन २३ गते ५ दशमलव ४३ मिटर पानी मापन गरीएको थियो । किसानले असार १४ गतेको मापन अनुसार १० प्रतिशत बिमा रकम पाए भने साउन २३ गतेको मापन अनुसार थप १५ प्रतिशत रकम पाए । अध्ययन अनुसार कैलालीमा एक कठ्ठामा १४४ किलो धान उत्पादन हुने गरेको छ । धानको मुल्य प्रतिकिलो २५ तोकिएको छ । सो आधारमा बाली उत्पादन लागत ३ हजार ६०० कायम गरी २५२ रुपैयाँ बिमा प्रिमियम तोकिएको बोगटीले बताए ।

बाढीको सूचकाङ्कका आधारमा बिमा दाबी भुक्तानी गरिने भएकाले किसानको खातामा क्षतिपुर्ती बापतको रकम ७ देखि १० दिन भित्रमा जम्मा हुने गरेको उनकोे भनाई छ । किसानको घरमै दिन जाँदा ७ देखि १० दिनको समयावधीमा नसकिने हुँदा एकता प्रगतिशिल सहकारीका शेयर सदस्यभन्दा बाहिरका किसानको पनी सहकारीमा खाता खोलीएको उनले बताए । कर्णाली नदीको तटीय क्षेत्रमा परियोजना सफल भएपछि गोदावरीको खुटिया तटीय क्षेत्रमा यस वर्ष देखि परियोजना लागू भएको यस बिमा कार्यक्रम अन्र्तगत थप ५० रुपैयाँ तिरेमा किसानको २ लाख सम्मको दुर्घटना बिमा पनी गरिने उनले बताए ।

हालसम्म बाढी बिमा बापत सो क्षेत्रका किसानले असार १४ गते आएको बाढीका कारण भएको १० प्रतिशत क्षतिपुर्ती बाफत १ लाख ५० हजार २४६ रुपैँया र साउन २३ गते आएको बाढीको थप १५ प्रतिशत क्षतिपुर्ती बाफत २ लाख २५ हजार ३६९ रुपैयाँ गरी हालसम्म किसानले २५ प्रतिशत क्षतिपुर्तिको ३ लाख ७५ हाजार ६१५ रुपैँया पाइसकेका छन । २३१ घरधुरीमा ४१७.३५ कठ्ठा क्षेत्रफलमा बाढी बिमा गराए बाफत शिखर इन्स्योरेन्स ले १ लाख ५ हजार १९५ रुपैयाँ प्रिमियम शुल्क संकलन गरेको थियो भने ११ हजार ५०५ रुपैँया दुर्घटना बिमा बाफत संकलन गरेको थियो । २०८० जेठ १५ देखी लागु भएको उत्त बिमाको अवधी कात्तिक १४ गतेसम्म रहेको छ ।