डोटी – होटलमा पानी छोएको आरोपमा एक दलित युवकमाथि आइतबार दिउँसो कुटपिट भएको छ । केआईसिंह गाउँपालिका–४ धामीगाउँ धाराखोलाका व्यापारी ईश्वर धामीले युवकलाई हातपात गरेका हुन् ।
केआईसिंह–४ लेककोटका रमेश भुललाई खाजा खान होटलमा गएका बेला दलितले पानी किन छोएको भन्दै धामीले थप्पड हानेका थिए । ६० वर्षीय धामीविरुद्ध जातीय छुवाछुत तथा विभेद गरेको आरोपमा पीडित पक्ष न्यायका लागि प्रहरी कहाँ गएका छन् ।
पीडित रमेश भूलले आफुमाथिमात्र नभएर सिंगो दलितजाति माथिको अपमान भएको भन्दै कानुनी कारवाहीमा जाने बताएका छन् ।
जातीय विभेदको घटना इलाका प्रहरी कार्यालयले हेर्न नमिल्ने भन्दै वायल प्रहरी चौकीले दुवै पक्षलाई जिल्ला प्रहरी कार्यालय सिलगढी पठाएको इन्चार्ज मानसिं भण्डारीले बताए ।
इलाका प्रहरी कार्यालय वायलका इन्चार्ज असइ मानसिंह भण्डारीले पानी छोएको निहुँमा कुटपिट गरेको भन्दै रमेश भूल आइतबार बेलुकी आएको बताए । असई धामीका अनुसार दुवै पक्ष मदिरा सेवन गरी बेलकीपख आफुकहाँ आएका भए पनि सोमबार सिलगढी पठाएको बताए ।
प्रत्यक्षदर्शीका अनुसार धामीले जातीय आरोप लगाउँदै कुटेको स्वीकारेका छन् । यद्यपि सामान्य घटना भन्दै गाउँमै सहमती गर्नका लागि पीडित पक्षलाई दबाब आइरहेको दलित अगुवाहरुको गुनासो छ ।