अत्तरिया – कैलालीको गोदावरी नगरपालिका र धनगढी उपमहानगरपालिकाको सिमा विवाद समाधानकालागि प्राविधीक टोली गठन गरिने भएको छ । जिल्ला समन्वय समितिले सिमा विवाद समाधानकालागि प्राविधीक टोली गठन गरिने बताएको हो । गोदावरी नगरपालिका वडा नम्बर ९ र धनगढी उपमहानगरपालिका वडा नम्बर १७ को सिमा क्षेत्रमा पर्ने खुटिया नदीबाट नदीजन्य पदार्थ उठाउने विषयमा लामो समयदेखी दुई पालिकाबिच विवाद रहँदै आएको छ ।
सोहि विवाद समाधानकालागि भन्दै बिहिबार स्थलगत अध्ययनकालागि पुगेको जिल्ला समन्वय समिति कैलालीको टोलीले प्राविधीक टोली गठन गर्ने जनाएको हो । प्राविधीक टोलीमा नापी विभागका कर्मचारी,दुवै पालिकाका सम्बन्धीत वडाका वडा अध्यक्ष,प्राविधिक,नगर प्रहरी लगायतको सहभागीता रहने जनाईएको छ । यस्मा दुवै पालिकाले मौखिक सहमति जनाएका छन् । खुटिया नदीको सो क्षेत्रमा उत्खनन् तथा भोगाधिकारमा दुवै पालिकाले आ-आफ्नो दाबी गर्दै आएका छन् ।
यसअघि नदीको पुर्वतिर धनगढीले र पश्चिमतिर गोदावरीले नदीजन्य पदार्थ उठाउँदै आएको थियो । विगतका वर्षहरुमा गोदावरी नगरपालिकाले नदीजन्य पदार्थ उठाउँदै आएको क्षेत्रबाट पनि यसवर्ष धनगढीले नदीजन्य पदार्थ उठाउन थालेपछि केहिदिन अघि पनि विवाद भएको थियो । विवाद समाधान नभएसम्मका लागि सो क्षेत्रबाट नदीजन्य पदार्थ नउठाउने सहमति भएको थियो । आज (बिहिबार) जिल्ला समन्वय समिति कैलालीका कार्यवाहक अध्यक्ष खगराज भुसालको अध्यक्षतामा दुवै स्थानीय तहका राजनितिक, प्रशासनिक तथा प्राविधिक नेतृत्वको उपस्थीतीमा स्थलगत अध्ययन गरिएको हो ।
भुसालले सिमा क्षेत्रको विवादलाई लामो बनाउनु उचित नहुने बताए । उनले बस्ती र संरचना बचाउने कुरामा दुवै पालिका गम्भीर हुनुपर्ने बताए । उनले नक्सा हेरेर थप निष्कर्ष निकालिने बताए । त्यस्तै गोदावरी नगरपालिकाका प्रमुख बिरेन्द्र भट्टले उत्त विवाद दुवै पालिकाका सिमा क्षेत्रका बासीन्दालाई समेत सहज हुने बताए । विवाद समाधान गर्दा सिमा क्षेत्रका बासीन्दाको मागलाई पनि सम्बोधन गर्नुपर्ने उनको भनाई थियो । धनगढी उप महानगरपालिकाका वडा नम्बर ३ का अध्यक्ष एवम् वन वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक राज बहादुर ऐरले वन,बस्ती र संरचना जोगाउने गरी अगाडि बढ्नुपर्ने बताए ।
श्रोत माथीको द्धन्दलाई लामो बनाउँदा कुनै घटनासमेत हुनसक्ने भन्दै वास्तविकता प्रस्तुत गरी सद्भाव कायम गरिदिन जिल्ला समन्वय समितिलाई उनले अनुरोध गरे । गोदावरी नगरपालिका वडा नम्बर ९ का अध्यक्ष रामलाल रानाले नदीजन्य पर्दाथ उत्खनन् जुन पालिकाले गरेपनि बस्तीमा असर नपर्नेगरी उत्खनन् गर्नुपर्ने बताए । उनले खुटीया नदीमा जथाभावी उत्खनन् गरेमा धनचौरीको बस्ती नै जोखिममा पर्ने भन्दै सो तर्फ पनि सम्बन्धीत निकायको ध्यानाकर्षण गराए ।
गोदावरी ९ का वडा सदस्य एवम् स्थानीय उद्धव भट्राईले धनगढीले नदीजन्य पर्दाथ उत्खनन् गर्दा गोदावरीका स्थानीयले हैरानी खेपीरहनु परेको बताए । करोडौँको नदीजन्य पर्दाथ धनचौरीकै बाटो भएर ओसारपसार गर्दै आएको तर बाटो भने मर्मत नगरेको उनले बताए । समैजी सामूदायिक वनका अध्यक्ष मदन कठायतले धनचौरीबासीले खुटिया नदीको कटान रोक्न लामो समयदेखी वृक्षारोपण गर्दै आएको बताए ।
नदीजन्य पर्दाथ उठाउँदा राजश्वको २० प्रतिशत रकम सोहि ठाउँमा खर्च गर्नुपर्ने प्रावधान रहेको भएपनि दुवै पालिकाले त्यसो नगरेको बरु आफुहरुले ग्राबेल गरेका बाटोघाटो समेत नदीजन्य पर्दाथ बोक्ने लोड सवारी साधनले बिगारेको गुनासो गरे । राजनितिक रुपमा नभई उत्त विषयलाई स्थानीयको माग अनुसार समाधन गर्नुपर्ने उनको भनाई थियो । त्यस्तै स्थानीय महेस बोहराले धनगढीले एकतर्फी रुपमा गरेको सिमांकन धनचौरी बासीलाई मान्य नहुने बताए ।
उनले नदीको कटान रोक्न धनचौरी बासीले लामो समयदेखी संर्घष गरेको भन्दै धनगढीले नदीजन्य पर्दाथ बोक्ने बाटोमा समेत आफुहरुले वर्षेनी लाखौँको ग्राबेल गर्दै आएको बताए । यसअघि धनगढीले एकलौटी रुपमा सिमांकन गरेको हुँदा अब विवादीत क्षेत्रमा दुवै पालिकाका प्रतिनिधीको सहभागितामा नयाँ सिमांकन गर्नुपर्ने धनचौरीबासीको माग छ ।