अत्तरिया बसपार्कको स्तरोन्नतिमा नेपाली सेना बाधक

Image

अत्तरिया – कैलालीको अत्तरिया बसपार्कको स्तरोन्नतिमा नेपाली सेना बाधक देखिएको छ । गोदावरी नगरपालिकाले केहिदिन अघि अत्तरिया बसपार्क क्षेत्रमा ग्राभेल गर्न खोज्दा नेपाली सेनाले आएर केरकार गर्यो । “हामी पनि त्यहिँ थियौँ,नगरपालिकाले बसपार्क बिस्तारका लागि ग्राभेल हालिरहेको समयमा तेघरीको देवीदल गणबाट आएको नेपाली सेनाको टोलीले यो हाम्रो क्षेत्र हो,तपाईहरु ग्राभेल गर्न पाउनु हुन्न भने” स्थानीय व्यवसायी राजेन्द्र खड्काले भने ।

बसपार्क लगायतका सार्वजनिक क्षेत्रमा सेनाले दाबी गर्नु उचित नभएको व्यवसायी खड्का बताउँछन् । सेनालाई चाहिने नै भएपनि नजीकका अन्य ठाउँमा दिनुपर्ने खड्काको भनाई छ । “सुरुवाती समयमा जनस्तरबाट उठाएको रकमले निर्माण भएको बसपार्कमा अहिले स्थानीय सरकारको पनि करोडौँ लगानी रहेको छ, उनले भने सार्वजनिक ठाउँ त्यति नै त बाँकि छ अत्तरियामा त्यति पनि सेनाले लग्यो भने यहाँका जनताले के गर्ने ?” केरकार मात्रै गरेर सेनाको टोली फर्केपछी ग्राभेलको काम भने निरन्तर नै रहेको बताईएको छ ।

बसपार्क बिस्तार र स्तरोन्नतिको काममा सेनाले केरकार गर्न थालेपछी अहिले स्थानीय स्तरमा यो विषयमा फेरी चर्चा सुरु भएको छ । नेपाली सेनाले बसपार्क क्षेत्रमा गतवर्ष नै “नेपाली सेनाको नाममा भोगाधिकार प्राप्त जमीन”भन्दै बोर्ड टाँसेको थियो । अत्तरिया बजार क्षेत्रमा पर्ने बसपार्क, अत्तरियाको पूर्व रोड बनखेतदेखि पहाड रोड, लामिताल सहित उत्तरी क्षेत्रभित्र पर्ने करिब साढे १७ हेक्टर जमिन नेपाली सेनाले आफ्नो भएको दाबी करिब दुई वर्षदेखी गर्दै आईरहेको छ ।

नेपाली सेनाले दाबी गर्दै आईरहेका उत्त क्षेत्र तथा संरचनाहरुमाथी हाल गोदावरी नगरपालिका, विभिन्न संघसंस्था र स्थानीयले भोगाधिकार गरिरहेका छन । तत्कालीन राजा ज्ञानेन्द्रको शासनकालमा २०६२ सालमा सेनाको नाममा नामसारी गरिएको भनिएको उक्त जग्गामा हाल करोडौँका संरचना बनेपछि मात्रै सेनाले खोजी गरेको छ ।

२०६७÷६८ सालमा जनस्तरबाट रकम उठाइ संरचना निर्माण गर्दा चुपचाप बसेको नेपाली सेनाले अहिले करोडौँका संरचना बनीसकेपछी दाबी गर्नु अनौठो विषय भएको यस क्षेत्रका सामाजिक अगुवा तथा राजनितिक नेतृत्वहरु बताउँदै आएका छन् । तत्कालीन बसपार्क व्यवस्थापन समितिका अध्यक्ष एवम् नेकपा एमालेका नेता गोकर्ण भट्ट उत्त विषयमा पछील्लो समय दिनहुँजसो सामाजिक सञ्जालमा लेख्दै आएका छन् ।

बसपार्क हाम्रो भोगाधिकारमा पर्छ भनेर बसपार्कको स्तरोन्नति र बिस्तारमा बाधा पुर्याउनु कुनै पनि हालतमा न्याय संगत नभएको उनको भनाई छ । “त्यो क्षेत्र खाल्डोमा मात्रै सिमित थियो,अत्तरियामा बसपार्कको आवश्यकता देखीएपछी हामीले करोडौँ लगाएर निर्माण गर्यौँ,त्यतिबेला यो हाम्रो हो भनेर सेनाले किन भनेन?,त्यतिबेलै भनेको भए हामी विकल्प खोज्थ्यौँ, भट्टले भने ।”

संकटमा रहेको अत्तरिया बसपार्कको बचाउकालागि सबै राजनितिक दल,नागरिक समाज एकै ठाउँमा हुनुपर्ने भट्ट बताउँछन् । बसपार्क बिस्तारमा सेनाले गरेको अवरोध विरुद्ध जनमत तयार गर्नुपर्ने उनी बताउँछन् । सो विषयमा पहल गर्नु स्थानीय सरकारको दाईत्व भएकोले नगर प्रमुखले यसको अगुवाइ गर्नुपर्ने र हालसम्म यसबारे भएका प्रयासबारे पनि आम जनतालाई आधिकारिक रुपमा जानकारी दिनुपर्ने उनको भनाई छ ।

कुनैपनि पक्की संरचना निर्माण गर्न नदिने पक्षमा सेना रहेको स्थानीयको बुझाई छ । बसपार्क,लामीताल लगायतका क्षेत्रमा गरिने विकास निर्माण र सार्वजनिक कार्यक्रमहरुको बारेमा समेत सेनाले केरकार गर्दै आएको छ । गत वर्ष नेपाली कांग्रेसले लामीताल परिसरमा गर्न लागेको पार्टीगत कार्यक्रममा पनि सेनाको टोली पुगेको थियो ।

त्यस्तै गत पौषमा लामीताल परिसरमा महोत्सव सञ्चालन गर्न पनि सेनाको सेनाको अनुमति लिईएकोे थियो । लामीताल परिसरमा महोत्सव सञ्चालन गर्नदिन भनेर आफुहरुले पटक पटक धाएपछी मात्रै सेना तयार भएको अत्तरिया उद्योग वाणिज्य संघका पदाधिकारी बताउँदै आएका छन् । गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्ट गोदावरीको विकासमा बाधक नबन्न सेनालाई आग्रह गर्दै आएका छन् ।

बसपार्कलाई व्यवस्थीत गरी प्रदेश स्तरीय बनाउने र लामीताललाई पर्यटकिय क्षेत्रका रुपमा विकास गर्ने स्थानीय सरकारको योजना रहेको हुँदा यी क्षेत्रहरु र सेनाकै भोगाधिकारको जमिनमा परेका भनिएका ६१ घरहरु सेनाले छोड्नुपर्ने भट्टको भनाई छ । सोहि विषयमा माथील्लो निकायमा कुरा भईरहेको र नतिजा सकरात्मक आउनमा आफु विश्वस्त रहेको उनी बताउँछन् । उत्त विषयमा बुझ्न खोज्दा देवीदल गणका गणपति रवि केशीले भने आलटाल गरेका छन् ।