गोदावरीमा स्थानीय पाठ्यपुस्तक निर्माणको काम सकिएन,विद्यार्थीले तत्काल नपाउने

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाको स्थानीय पाठ्पुस्तक निर्माणको काम अझै सम्पन्न हुन सकेको छैन । नगरपालिकाले कक्षा १ देखि ३ सम्मको पाठ्यक्रम शैक्षिक सत्र २०७९÷८० बाट नै तयार पारेर लागु गरिसकेको थियो तर पाठ्पुस्तक भने हालसम्म निर्माण भएको छैन ।

त्यस्तै कक्षा ४ देखी ८ सम्मको पाठ्यक्रम गत शैक्षिक सत्रदेखी लागु गरिसकेको नगरपालिकाले पाठ्पुस्तक भने अझै निर्माण गर्न सकेको छैन । जस्का कारण पाठ्पुस्तक बिना नै अध्ययन,अध्यापन भएकोे थियो ।

nisarga

चालु शैक्षीक सत्रको सुरु देखी वितरण गर्नेगरी संघीय सरकारबाट स्वीकृत पाठ्यक्रमअनुसार नगरपालिकाले पाठ्यक्रम बनाई पाठ्यपुस्तक प्रकाशन गर्नुपर्ने भएपनि अझै केहि महिना लाग्ने भएको छ । पाठ्पुस्तक निर्माणकालागि नगरपालिकाले दुई टोली गठन गरेको छ ।

कक्षा १ देखी ३ सम्मको पाठ्पुस्तक निर्माणको जिम्मा एक टोलीलाई दिईएको छ भने कक्षा ४ देखी ८ सम्मको पाठ्यपुस्तक निर्माणको जिम्मा अर्को टोलीलाई दिईएको छ ।

गत कार्तिक यता पाठ्यपुस्तक निर्माणको कामले गति लिन नसकेको निर्माण टोलीमा रहेका दुर्गालक्ष्मी नमुना मा वि का प्रधानाध्यापक शिवराज जोशीले जानकारी दिएका छन् ।

“हामीले विषयवस्तुहरु तयार गरेर राखेका छौँ विषयवस्तुको क्रमबद्धता,स्तरिकृतका लागि दुवै टोलीको संयुत्त वैठक बस्न नसकेका कारण ढिलाई भईरहेको छ,” जोशीले भने ।

अझैपनि निरन्तर रुपमा काम भएमा वैशाखभित्रै पाठ्यपुस्तक विद्यार्थीसामु पुग्नसक्ने उनको भनाई छ । ‘हाम्रो गोदावरी’ नामक स्थानीय पाठय्पुस्तकमा स्थानीय भूगोल, प्राकृतिक श्रोतहरु,सडक सञ्जाल,खानेपानी,शैक्षिक तथा स्वास्थ्य सँस्थाहरु,विधुत,पेशा व्यवशाय,सरसफाई तथा फोहोर व्यवस्थापनका बारेमा उल्लेख गरिने जोशीले बताएका छन् ।

त्यस्तै पाठ्पुस्तकमा नगर भित्रको क्षेत्रको रहनसहन,कला सँस्कृति,धार्मीक तथा एतिहासिक क्षेत्र तथा विभीन्न क्षेत्रमा योगदान पुर्याउने व्यत्तिहरुको बारेमा समेट्ने प्रयास गरीएको उनले बताएका छन् ।

विविध कारणले स्थानीय पाठ्यक्रम समयमै निर्माण गर्न नसकिएको नगरपालिकाका शिक्षा शाखाका प्राविधिक सहायक विष्णु अवस्थीले बताए । उनले साउनसम्म पाठ्यपुस्तक निर्माण सम्पन्न हुने बताएका छन् ।

“छिटो सम्पन्न गर्छौँ भनेर मात्रै हुँदैन,गहिरिएर विषयवस्तु समेट्नुपर्छ,त्यसैले समय लागेको हो ।नयाँ आर्थीक वर्ष सम्म पाठ्पुस्तक निर्माण सम्पन्न हुन्छ होला” उनले भने । पाठ्यपुस्तक निर्माणकालागि नगरपालिकाले ८ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

बालबालिकालाई आफ्नो क्षेत्रको प्राकृतिक, सामाजिक, ऐतिहासिक तथा धार्मिक सम्पदाबारे परिचित गराउने विषय समावेश गरेर कक्षा १ देखि ८ सम्मको स्थानीय पाठ्यक्रम गत शैक्षिक सत्रदेखि लागू गरिएको हो । पाठ्यक्रम निर्माण सुरु गर्नु अघि यस क्षेत्रका अगुवा शिक्षकहरु संग सुझाव संकलन गरिएको थियो ।

राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ ले कक्षा १ देखि ८ सम्म स्थानीय विषय पढाउन सकिने प्रावधान राखेको छ । उक्त प्रारुपले स्थानीय पेशा, व्यवसाय र प्रविधि एवम् श्रमप्रति सम्मान तथा व्यवहार कुशल सीपको प्रयोग गर्न सक्ने क्षमता विकासमा जोड दिनुपर्ने कुरा उल्लेख गरेको छ ।

केन्द्रबाट तय हुने पाठ्यक्रमले स्थानीय संस्कृती, जनजीवन, भुगोल लगायतका पक्षलाई समेट्न सक्दैन भन्ने मान्यताका आधारमा स्थानीय पाठ्यक्रमको अवधारणा अगाडी सारिएको थियो ।

नेपालको संविधानको भाग ३ मा मौलिक हकसम्बन्धी व्यवस्था रहेको छ । सो अन्तर्गत धारा ३२ को उपधारा (२) र(३) मा मुलुकका हरेक स्थानीय तहबाट आफू मातहत रहेका सामुदायिक र संस्थागत विद्यालयमा स्थानीय पाठ्यपुस्तकका रूपमा आफैंले एक विषय अध्ययन अध्यापन गराउन सकिने व्यवस्था गरिएको छ ।