गोदावरी नगरपालीकाले सुरु गर्यो वडा भेला

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालीकाले वडा भेला आजदेखी सुरु गरेको छ । जस अन्तरगत आज वडा नम्बर १ बाट  वडाभेला सुरु गरेको हो । वडाहरुले आर्थीक बर्ष २०८१÷८२ को योजना तथा कार्यक्रम सार्वजनिक गर्नेछन् ।

वडा नम्बर १ ले आर्थीक बर्ष २०८१÷८२ को योजना तथा कार्यक्रम सार्वजनिक गरेको छ । वडा कार्यालयमा आयोजित ८ औं वडा भेलामा वडा अध्यक्ष गोपाल दत्त भट्टले वडाका योजना तथा कार्यक्रम सार्वजनिक गरेका हुन ।

नगरले पठाएको सिलिङ अनुसार नै वडाको बजेट सार्वजनिक गरिएको वडा अध्यक्ष भट्टले बताए । जस अनुसार वडा नम्बर १ ले समानिकरण बजेट ६० लाख र सुत्रमा आधारीत बजेट २३ लाख १७ हजार ८०७ गरी जम्मा  ८३ लाख १७ हजार ८०७  रुपैयाँ बराबरको बजेट सार्बजनिक गरेको छ ।

गत वर्ष १ करोड १० लाख ३९ हजार ४८३ रुपैयाँको बजेट सार्वजनिक गरेको वडा नम्बर १ ले यस वर्ष झन्डै २७ लाख घटाएर सार्वजनिक गरेको हो । नगरमा संघ र प्रदेशबाट आउने बजेट सिलिङ नै घटेर आएकोले वडाको बजेट पनि घटेको वडाले जनाएको छ ।

नगर प्रमुख विरेन्द्र भट्ट प्रमुख अतिथि रहेको कार्यक्रममा उपप्रमुख शारदा देवी रोकाया, प्रमुख प्रशासकीय अधिकृत हरिदत्त भट्ट , विभीन्न वडाका वडा अध्यक्ष,  राजनीतिक दलका प्रतिनिधि, संघसस्थाका प्रतिनिधि तथा वडाबासीको सहभागिता रहेको छ ।
त्यस्तै चालु आर्थिक वर्षको वैशाखसम्म वडा नम्बर १ ले ६२ लाख ५४ हजार १४३ रुपैयाँ राजस्व उठाएको छ ।