काठमाडौं – बंगलादेशमा अध्ययनरत विद्यार्थीलाई नेपाल ल्याइँदै छ । परराष्ट्रमन्त्री आरजु राणा देउवाका अनुसार त्यहाँ अध्ययनरत करिब ८०० विद्यार्थीलाई हवाई वा स्थलमार्ग हुँदै नेपाल ल्याइन लागेको हो ।
ढाकास्थित नेपाली दूतावासले विद्यार्थीहरूलाई बंगलादेशका विभिन्न स्थानहरूबाट ढाका विमानस्थललगायत अन्य सीमा नाकाहरूमा सुरक्षित यात्राको लागि समन्वय गरिरहेको छ ।

मन्त्रालयले बंगलादेशमा विकसित पछिल्लो घटनाक्रमका कारण समस्यामा परेका नेपाली विद्यार्थीको सहयोगका निम्ति ‘हेल्प डेस्क’ समेत स्थापना गरेको छ ।
मन्त्रालयले शनिबार एक सूचना जारी गरी त्यहाँ रहेका विद्यार्थीको सहजताका लागि आवश्यक सम्पर्क व्यक्तिसहित हेल्प डेस्कको व्यवस्था गरिएको जनाएको छ ।
बंगलादेशमा सरकारी सेवामा रहेको कोटा प्रणाली खारेजीको माग गर्दै भएको आन्दोलनका कारण समस्या उत्पन्न भएको हो ।