
अत्तरिया – कञ्चनपुरको कृष्णपुर नगरपालिकाले सामुदायिक वनमा बहुउपयोगी चिउरीका दुई हजार पाँच सय वृक्षरोपण गरेको छ । नगरपालिकाले वडा नम्बर १ स्थीत दोमिल्लामा चुरे फेदीमा रहेको ऐश्वर्य सामुदायिक वन र राष्ट्रिय वनमा चिउरीका दुई हजार पाँच सय वृक्षरोपण गरेको हो । कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझाले वनसंगको सहकार्यमा चिउरीका दुई हजार पाँच सय वृक्षरोपण गरिएको बताए ।
चिउरी बहुउपयोगी भएकाले मिचाहा प्रजातीको रुइना प्रतिस्थापन गरि चिउरीको बोट रोपीएको नगर प्रमुख ओझाले बताए । ‘चिउरी फलेमा मानव स्वास्थ्यका लागि स्वस्थकर छ भने फूलेमा मात्रै पनि चराचुरुंगी,किरा फट्याग्राका लागि पनि उपयोगी छ । अर्कोतिर यो वातावरणीय हिसाबले पनि त्यत्तिकै उपयोगी छ। चिउरी रोपीएका जंगलका नजीकका गाँउहरुलाई हामीले मह पकेट क्षेत्र बनाउने पनि योजना बनाएका छौं।,’ओझाले भने। मलिलो माटो र हेरचाह पनि नचाहिने चिउरी चैत–वैशाखमा अन्य बोटबिरुवाको पात झर्ने मौसममा यसको बोट हरियो हुन्छ ।


बाख्रा पालनका लागि चिउरी उपयोगी मानिएको छ । देख्दा मात्रै राम्रा देखिने विदेशी मुलका रुख मात्रै लगाउनु भन्दा पनि हाम्रा आफ्नै ठाँउका चिउरीजस्ता वनस्पति रोप्नु उचित हुने ओझा बताउँछन् । चिउरी मानिसका लागि मात्र उपयोगी वनस्पति होइन । यसको फूलमा मौरी असाध्यै झुम्मिन्छ । तथ्यांक अनुसार चिउरीको फूलको रसमा चिनीको मात्रा ४२ प्रतिशत हुन्छ ।
यसैले चिउरीलाई मह उत्पादनको महत्वपूर्ण स्रोत मानिन्छ । मौरी पालकहरू मौरीका घार चिउरी पाइने जंगलमा सार्ने गर्छन्। चुरे क्षेत्रमा पाइने स–साना चराका लागि पनि चिउरीको फूल आकर्षणको केन्द्र हुन्छ। यसको फल पाक्दा चमेराहरू झुण्डमै आउँछन् । चिउरी ढुंगा भएको रुखो तथा भिरालो जमीनमा बढी सप्रीन्छ । त्यसैले पहाडी तथा चुरे क्षेत्रमा सडक विस्तारका कारण भू–क्षय भएर पहिरोको समस्या भएको ठाँउमा पहिरो नियन्त्रण गर्न विशेषतः चिउरी रोप्नु उपयुक्त हुन्छ ।
फल्नेछन् बेल र कागती र अमला पनि
कृष्णपुर नगरपालिकाले जंगलमा बेल कागती अमला र दालचिनी (तेजपत्ता) पनि रोपेको छ । नगरपालिकाले बेलको जुस उद्योग खोल्न सकिने र कागती,अमला तथा दालचिनी पनि बिक्रि गर्न सकिने उदेश्यले वृक्षरोपण गरिएको नगर प्रमुख ओझाले बताए । वडा नम्बर १ हात्ति प्रभावित क्षेत्र पनि भएकोले बेलको बोटलाई हात्तिले क्षति नगर्ने भएकोले पनि बेल रोपीएको उनले बताए । जुसजन्य पर्दाथ उत्पादन गर्ने उदेश्यले बेल रोपीएको ओझाले बताए ।

कागती र अमला पनि राम्रो मूल्यमा बजारमा बिक्रि गर्न सकिने तथा दालचिनीको पनि बोक्रा र पात बिक्रि गर्नका साथै मसलाजन्य उद्यम सुरु गर्न सकिने उनले बताए । चरिचरन बन्द भएपछी सामुदायिक वनमा मिचाहा प्रजातीका बिरुवा बढेकाले त्यसलाई प्रतिस्थापन गर्नुपर्ने उनले बताए ।
ऐश्वर्य सामुदायिक वनका अध्यक्ष ईश्वर बहादुर बुढाले वनमा मिचाहा प्रजातीको रुइनाको झाडी सफाइ गरि चिउरी,बेल,कागती,अमला,दालचिनी लगायतका बिरुवा रोपीएको बताए ।

पालिकाको तीन लाख सहयोगमा यसै वर्षदेखी दुई हजार पाँच सय चिउरी,बिस हजार बेल,तेह्र हजार दालचिनी,दश हजार कागती र दुई हजारको सङ्ख्यामा अमलाका बिरुवा रोपीएको बताए । दश हजार कागतीमध्य सात हजार जंगलमा रोपीएको र तीन हजार वनका उपभोत्तालाई वितरण गरिएको बुढाले बताए । उनले आगामी वर्ष मिचाहा प्रजाती सफा गरी करिब दुई हजार बोटसहित कागतीको खेती नै गर्ने वनको उदेश्य रहेको बुढाले बताए । उनले बिरुवा हुर्काउन भने चुनौती रहेको बताए । कृष्णपुर नगरपालिकाले सब डिभिजन वन कार्यालय वाणीलाई प्रति बोट दश रुपैयाका दरले बोट उत्पादन गर्ने जिम्मा दिएको थियो ।

















