गोदावरीका किसानको बाढी बिमा : खुटियामा बाढी आउँदा खातामा पैसा

Image

अत्तरिया – कैलालीको गोदावरीका किसान बाढी बिमाबाट लाभान्वित भएका छन् । गोदावरी – ८ स्याउलेमा रहेको एकता प्रगतिशिल सहकारीले गरेको बाढी बिमाबाट वडा नम्बर ७,८ र ९ का ८६१ किसान लाभान्वित भएका हुन् । बाढी बिमा बाफतको रकम हिजो (बुधबार) संस्थाको १४ औं वार्षिक साधारण सभामा बुधबार शिखर इन्सुरेन्सका प्रदेश प्रमुख डिल्लीराज शर्माले गोदावरी नगरपालिकाकी उप प्रमुख शारदा देवी रोकायाको रोहबरमा सहकारीका अध्यक्ष सुरत बहादुर बोगटीलाई ९ लाख ४३ हजार ३ सय ९८ रुपियाँ बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

सहकारीले यसअघि नै उत्त रकम ८ सय ६१ जना बिमितको खातामा प्रति कठ्ठा ३ सय ६० का दरले जम्मा गरिसकेको छ । गत (२०८१) भदौ २८ गते बिहान ७ बजे खुटिया नदीमा जल सतह ४ दशमलव ६० मिलिमिटर मापन भएको थियो । सो को आधारमा १० प्रतिशत बिमा दावी भएको हो । बिमित ८ सय ६१ घरधुरीका दुई हजार ६ सय २० दशमलव ५५ कट्ठा क्षेत्रफलमा बाढी बिमा गराएवापत शिखर इन्स्योरेन्स कम्पनीले ६ लाख ६० हजार ३ सय ७८ रुपैयाँ प्रिमियम शुल्क सङ्कलन गरेको थियो ।

त्यस्तै १ लाख ७२ हजार दुई सय रुपियाँ दुर्घटना बिमाबाफत संकलन गरेको थियो । गत वर्ष २३१ किसानले बाढी बिमा गराएका थिए । बिमित २ सय ३१ घरधुरीका ४ सय १७ दशमलव ३५ कट्ठा क्षेत्रफलमा बाढी बिमा गराएबाफत शिखर इन्स्योरेन्स कम्पनीले १ लाख ५ हजार १९५ रुपैयाँ प्रिमियम शुल्क सङ्कलन गरेको थियो । त्यस्तै ११ हजार ५०५ रुपैयाँ दुर्घटना बिमावापत संकलन गरेको थियो । परियोजना गत वर्ष पहिलो पटक खुटिया नदीको बाढी प्रभावित क्षेत्र गोदावरी नगरपालिका वडा ८ र ९ मा देखि सूचकाङ्कका आधारमा बाढी बिमा कार्यक्रम लागू गरिएको थियो ।

यसवर्ष किसानको आकर्षण बढ्दा बिमितको सङ्ख्या ८६१ जना पुगेको हो । एकता प्रगतिशिल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले अमेरिकी सहयोग नियोग युएसएआइडीकोे तयार नेपाल परियोजनाको आर्थिक सहयोगमा सञ्चालित सूचकाङ्कका आधारमा बाढी बिमा कार्यक्रम अन्र्तगत स्टोनस्टेप, प्राक्टिकल एक्सन, शिखर इन्स्योरेन्स कम्पनी सँगको साझेदारीमा पाइलट परियोजनाका रुपमा गत वर्षदेखी धान बालीमा बाढी बिमा गरेको थियो । पाइलट परियोजनाकारुपमा लागू भएको उक्त कार्यक्रमलाई एकता प्रगतिशील बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सहजीकरण गर्दै आइरहेको छ ।

यस कार्यक्रममा गोदावरी नगरपालिका वडा नम्बर ७,८ र ९ का किसानहरूलाई समेटिएको छ । बाढी बिमा गरेका ८६१ जना किसानले खेतमा बाढी नै नआई खुटिया नदीको पानीको सतह मापनका आधारमा बिमा बापतको भुक्तानी पाएका छन् । गोदावरीमा २०८० सालमा लागू गरिएको उक्त परियोजना पहिलो पटक खुटिया नदीको बाढी प्रभावित क्षेत्र गोदावरी नगरपालिका वडा ८ र ९ बाट सुरु भएको थियो । यसपाली देखि वडा नम्बर ७ का किसानलाई पनि समेटिएको छ । पानीको मापनका लागि गोदावरी ९ स्थित मुरि भावरमा जल मापनयन्त्र जडान गरिएकोे छ ।

उक्त तथ्याङ्कलाई आधार मानेर किसानलाई क्षतिपूर्ति दिने गरिएको एकता प्रगतिशिल सहकारीका ऋण सहायक एवम् बाढी बिमा परियोजना फोकल पर्सन लक्ष्मण बोगटीले बताए । नदीमा साढे ४ मिटर देखि ५ मिटर पानी मापनभए १० प्रतिशत, ५ दशमलव ०१ देखि साढे ५ मिटर पानी मापन भए २५ प्रतिशत, ५ दशमलव ५१ देखि ६ मिटर मापन भए ६५ प्रतिशत र ६ दशमलव ०१ देखि माथि मापन भए बिमांक रकमको शतप्रतिशत क्षतिपूर्ति भुक्तानी गर्ने मापदण्ड तय गरिएको बोगटीले बताए ।

परियोजना अन्र्तगत किसानको बाढी बिमाको भुक्तानी रकम एकता प्रगतिशील सहकारीमा रहेको खातामा जम्मा हुने र आवश्यक परेका बेला किसानले झिक्न सक्ने उनले बताए । ‘यस परियोजना अन्तर्गत किसानको बाढी बिमाको प्रिमियम एकता प्रगतिशील सहकारीको खातामा जम्मा हुन्छ,’ बोगटीले भने, ‘क्षतिपूर्ति वापतको रकम पनि सोही खातामा उपलब्ध हुन्छ, आवश्यक परेका बेला कृषकले निकाल्न सक्छन् ।’ कृषि ज्ञान केन्द्र कैलालीका अनुसार कैलालीमा एक कट्ठामा १४४ किलो धान उत्पादन हुने गरेको छ ।

धानको मूल्य प्रतिकिलो २५ रुपैयाँ तोकिएको छ । सो आधारमा बाली उत्पादन लागत ३ हजार ६०० कायम गरी २५२ रुपैयाँ प्रिमियम(बिमाशुल्क) तोकिएको बोगटीले बताए । बाढी सूचकाङ्कका आधारमा बिमा दाबी भुक्तानी गरिने भएकाले किसानको खातामा क्षतिपूर्ति वापतको रकम ७ देखि १० दिन भित्रमा जम्मा हुने उनकोे भनाइ छ । किसानको घरमै दिनजाँदा ७ देखि १० दिनको समयावधिमा नसकिने हुँदा एकता प्रगतिशील सहकारीको शेयर सदस्य भन्दा बाहिरका किसानको पनि सहकारीमा खाता खोलिएको उनले बताए ।

युएसएआइडीको सहयोगमा प्राक्टिकल एक्सन स्टोन स्टेपले कर्णाली नदीको तटीय क्षेत्रमा लागू गरेको परियोजना सफल भएपछि गोदावरीको खुटिया तटीय क्षेत्रमा २०८० सालदेखि लागू भएको परियोजनामा किसानले प्रिमियमबापत वार्षिक प्रतिकट्ठा २५२ रुपैयाँ तिर्नुपर्छ । यसबाहेक थप २०० तिरेमा किसानको २ लाखसम्मको दुर्घटना बिमा पनि गरिने फोकल पर्सन बोगटीले बताए । २०८० सालमा दुर्घटना बिमाको शुल्क ५० रुपैयाँ रहेपनि यसवर्ष सुविधा पनि थप गर्दै दुर्घटना बिमाको शुल्क २०० पुर्याइएको बोगटीले बताए ।

गतवर्ष तोकिएको समयावधिसम्म आएको बाढीका कारण बिमावापत सो क्षेत्रका २३१ किसानले असार १४ गते आएको बाढीबाट भएको १० प्रतिशत क्षतिपूर्ति वापत १ लाख ५० हजार २४६ रुपैयाँ र साउन २३ गते आएको बाढीको थप १५ प्रतिशत क्षतिपूर्ति वापत २ लाख २५ हजार ३६९ रुपैयाँ गरी २५प्रतिशत क्षतिपूर्तिको ३ लाख ७५ हजार ६१५ रुपैयाँ पाएका थिए । हरेक वर्षको जेठ १५ गतेदेखि लागू हुने उक्त बिमाको अवधि कात्तिक १४ गतेसम्म बहाल रहन्छ ।