धनगढीमा उत्पादन गरिएको फूल विमानमार्फत काठमाडौं निर्यात

Image
maya metro

धनगढी – कैलालीको धनगढी उपमहानगरपालिकाले फूल निर्यात गर्न थालेको छ। धनगढीमा किसानले उत्पादन गरेका सयपत्री फूल विमानमार्फत काठमाडौं निर्यात गर्न थालिएको हो।

किसानले उत्पादन गरेको फूलको प्रतिकिलो विमानले ९० रुपैयाँ ढुवानी भाडा लिने गरेको छ। किसानलाई प्रतिकिलो फूलमा धनगढी उपमहानगरपालिकाले ५० रुपैयाँ ढुवानीमा अनुदान दिएको छ। धनगढी–काठमाडौं २०० रुपैयाँ प्रतिकिलो विमान कम्पनीहरूले भाडा लिने गरेको भएपनि धनगढी उपमहानगरपालिकाको आग्रहमा ९० रुपैयाँ मात्र भाडा लाग्ने नगरप्रमुख गोपाल हमालले बताए।

nisarga

उनले भने, ‘धनगढी उपमहानगरपालिकाले फूलमा आत्मनिर्भरको अभियान थालेका थियौ। गत वर्षबाट हामी आत्मनिर्भर हुँदै गएका छौँ। धनगढीमा हामीले बिक्री केन्द्र र चिस्यान सेवा दिएका छौँ। हामीले बिजुलीको रकम दिने गरेका छौ।’ धनगढीमा आवश्यकताभन्दा बढी फूल उत्पादन भएको छ। धनगढीसहित सुदूरपश्चिमका नागरिकलाई बढी भएको फूल काठमाडौं पठाउन थालिएको हो।

फ्लोरीकल्चर एशोसियनको सहकार्यमा काठमाडौँ फूल पठाउन थालिएको छ। नगर प्रमुख हमालले भने, ‘हामीले विमान कम्पनीहरूसँग आग्रह गरेका छौँ। २ सय रुपैयाँ प्रतिकिलोको भाडा रहेछ। हामीले आग्रह गरेपछि ९० रुपैयाँमा फूल काठमाडौँ लैजाने सहमति भएको छ। उहाँहरूले एक सय १० रुपैयाँ छुट दिनुभएको छ। विमानको भाडा ९० रुपैयाँ परेको छ। ९० रुपैयाँमा पनि ५० रुपैयाँ उपमहानगरपालिकाले दिनेछ।

किसानको ४० रुपैयाँ मात्र भाडा पर्ने भएको छ।’ उपमहानगरपालिकाले गत वर्ष किसानले उत्पादन गरेको फूल खरिद गरेको थियो। यस पटक भने विमानको ढुवानी भाडामा अनुदान दिएर धनगढीमा उत्पादन भएको फूल काठमाडौं पठाउन थालिएको छ। व्यवसायीहरूलाई प्लास्टिकका फूल तथा मालाहरूको प्रयोग नगर्न नगर प्रमुख हमालले आग्रह समेत गरेका छन्। धनगढीमा प्लास्टिक प्रतिबन्ध छ।