धनगढी – कैलालीमा आधा किलाे सुन र नगदसहित दुई जना भारतीयलाई पक्राउ गरिएको छ ।
कैलालीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) पदमबहादुर विष्टकाे नेतृत्वमा खटिएकाे टाेलीले आइतबार धनगढी उपमहानगरपालिका-३ काे ट्राफिक चाैराहबाट दुई जनालाई पक्राउ गरेकाे हाे ।
पक्राउ पर्नेमा भारतकाे उत्तर प्रदेश माेहला बजार-२ पलियाखिरी बस्ने ४४ वर्षीय दिपक गुप्ता र ३४ वर्षीय सुमित बर्मा रहेकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।
उनकाअनुसार उनीहरूकाे साथबाट ५४९ दशमलव दुई सय ग्राम सुन, ४४ हजार ८१० नेपाली रूपैयाँ, एक हजार २८० भारतीय रूपैयाँ र सुन बाेक्न प्रयाेग गरिएको युपी ३२जेभी ९२०० नम्बरकाे भारतीय गाडी समेत बरामद गरिएको छ ।
एउटा ल्यापटप र दुई वटा माेबाइल पनि बरामद गरिएको छ । पक्राउ परेका भारतीय र बरामद सुनसहितका सामान जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेकाे छ ।
कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर विष्टले विशेष सूचनाका आधारमा सुन र नगदसहित भारतीय नागरिकलाई पक्राउ गर्न सफल भएकाे बताए ।
प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरूले नेपालमा बिक्री गरेर नाफा कमाउने उदेश्यले सुन तस्करी गरि ल्याइएको उनले बताए ।
पक्राउ परेका मध्येका सुमित बर्माले भारतकाे पलियामा सुनचाँदीकाे व्यवसाय गर्दै आएकाे प्रहरीले जनाएको छ ।
एसपी विष्टले सुनसहित पक्राउ परेकाहरूलाई अनुसन्धान सकेर थप कारवाहीका लागि कैलाली भन्सार कार्यालय बुझाइने बताए ।