गैर परम्परागत क्षेत्रमा महिला उद्यमशीलता विकास परियोजनाको सामाजिक लेखा परिक्षण सम्पन्न

Image

अत्तरिया – गैर परम्परागत क्षेत्रमा महिला उद्यमशीलता विकास परियोजनाको सामाजिक लेखा परिक्षण सम्पन्न भएको छ । मुक्त कमैया महिला विकास मञ्चको आयोजनामा कैलालीको अत्तरियामा गैर परम्परागत क्षेत्रमा महिला उद्यमशीलता विकास परियोजनाको सामाजिक लेखा परिक्षण सम्पन्न भएको हो ।

कार्यक्रममा गोदावरी नगरपालिकाकी उप प्रमुख शारदा देवी रोकाया,प्रमुख प्रशासकिय अधिकृत हरिदत्त भट्ट,विभिन्न शाखा प्रमुखहरु,विभिन्न संघ संस्थाका प्रतिनिधिहरु लगायत गैर परम्परागत क्षेत्रमा महिला उद्यमशीलताका विभिन्न तालिमहरुका प्रशिक्षार्थीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा परियोजना अनुगमन तथा मूल्याकंन अधिकृत पदमराज जोशीले सन् २०२४ मा गोदावरी नगर क्षेत्रमा भएगरेका काम कारबाहि र लागतबारे जानकारी गराएका थिए ।

सो जानकारी गराउँदै जोशीले सन् २०२४ मा अपेक्षित उपलब्धि हाँसिल गर्न नसकिएको बताए । विभिन्न तालिमका लागि अपेक्षाबमोजिम सहभागीहरु नै नपाएको उनले गुनासो गरे । तालिम लिन निवेदन उलेख्य पर्ने गरेको भएपनि तालिम पछिको उद्यमशीलता सुनिश्चता गरेर मात्रै तालिम दिने भनेपछि निवेदकहरु तालिममा सहभागी नै हुन नचाहने प्रवृत्ति रहेको उनले बताए ।

कार्यक्रममा सहभागी वडा नम्बर ११ का वडा अध्यक्ष प्रेम बडैलाले तालिम लिने तर व्यवहारमा लागू नगर्ने प्रवृत्ति हाबी रहेको बताए । त्यस्तै उप प्रमुख रोकायाले महिलालाई स्वरोजगार बनाउन मुक्त कमैया महिला विकास मञ्चको उत्त परियोजना उपलब्धिमुलक हुने बताइन् । उनले महिलाहरु परम्परागत पेशा,व्यवसायहरुमा मात्रै सिमित भईरहेकाले अब गैर परम्परागत क्षेत्रमा पनि सहभागि हुनुपर्ने बताइन् ।

सञ्चालीत तालिम,तरकारी खेतीको अनुगमन

त्यस्तै गैर परम्परागत क्षेत्रमा महिला उद्यमशीलता परियोजना अन्तरगत सञ्चालित तालिमको अनुगमन पनि गरिएको छ । उप प्रमुख रोकायाको संयोजकत्वमा गएको टोलीले गैर परम्परागत क्षेत्रमा महिला उद्यमशीलता परियोजना अन्तरगत सञ्चालित शैलुन तालिमको अनुगमन गरेको हो ।

तालिमको अनुगमनपछि उप प्रमुख रोकायाले महिलाहरु परम्परागत काममा मात्रै सिमित भएको बताउँदै यस्ता तालिमहरुले महिलालाई आत्मनिर्भर बन्न अझै सहयोग पुग्ने बताइन् । मुक्त कमैया महिला विकास मञ्चले गैर परम्परागत क्षेत्रमा महिला उद्यमशीलता परियोजना अन्तरगत महिलालाई विभिन्न सिपमूलक तालिमहरु प्रदान गरिरहेको छ ।

जसअन्तरगत शैलुन तालिम,सवारी चालक तालिमलगायत रहेका छन् । हाल ५ जना महिलाहरुले शैलुन तालिम लिईरहेका छन् भने ४ जनाले ,सवारी चालक तालिम लिईरहेका छन् ।

त्यस्तै सोहि अनुगमन टोलीले गोदावरी ३ की मिना चौधरीको तरकारी खेतीको पनि अनुगमन गरेको छ । परियोजनाले तरकारी खेती गर्दै आएकी चौधरीलाई बिउविजन,मल्चिङलगायत प्राविधिक सहयोग समेत गर्दै आईरहेको छ ।