
अत्तरिया – कञ्चनपुरको कृष्णपुर नगरपालिकाका चार हजार भन्दा बढी किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप लगाइँदै छ ।
आगामी माघ २२ देखि आगामी फागुन ६ गतेसम्म देशभर सरकारले सुरु गर्न लागेको खोप अभियानअन्तर्गत १० दखि १४ वर्ष उमेर समूहका किशोरीलाई खोप ‘एचपिभी’ लगाइने छ ।

कृष्णपुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रतन बहादुर विष्टले कक्षा ६ देखि १० सम्म अध्यनरत ३ हजार ९ सय १० जना किशोरी र विद्यालय बाहिर रहेका १० दखि १४ वर्ष उमेर समूहका दुई सय किशोरीलाई खोप लगाइने बताए ।
खोप अभियानलाई सफल बनाउन ५६ जना स्वास्थ्यकर्मी खटिने उनले बताए । नगर भित्रका ४५ वटा विद्यालय र १२ वटा स्वास्थ्य संस्था गरि ५६ खोपकेन्द्रमार्फत खोप लगाइने विष्टको भनाई छ ।
खोप अभियानलाई सफल पार्न ५६ स्वास्थ्यकर्मी,४६ जना स्वयंसेविका,११२ जना स्ययंसेवक खटिने विष्टले जानकारी दिए ।
सरकारले देशभरिका कक्षा ६ देखि १० सम्मका १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार नौ सय किशोरीलाई लक्षित गरी विश्व क्यान्सर दिवस (फेब्रुअरी ४) को सन्दर्भ पारेर एचपिभी खोप अभियान सञ्चालन गर्न लागेको हो ।
यो खोप लगाएपछि ९० देखि ९५ प्रतिशतसम्म पाठेघरको मुखको क्यान्सरबाट सुरक्षा प्रदान गर्ने बताइन्छ । महिलामा हुने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर नेपालमा पहिलो स्थानमा छ भने स्तन क्यान्सर दोस्रोमा पर्छ ।
नेपालमा हरेक वर्ष दुई हजार १६९ जना महिलालाई पाठेघरको मुखको क्यान्सर हुने र यसबाट बर्सेनि एक हजार ३१३ जना अर्थात् औसतमा प्रत्येक दिन चारजना महिलाको मृत्यु हुने अनुमान गरिएको छ ।
















