
अत्तरिया – कृषि सामग्री पावर टिलरमा ठगिएका कैलालीको गोदावरी नगरपालिका वडा नम्बर– ६ र ७ का किसानले सोनम चौधरीको घरमा लगाएको ताला प्रहरीले खोलेको छ ।
दुवैपक्षलाई छलफलका लागि बोलाउँदै अस्थाई प्रहरी पोस्ट बडेहाँले सोनमको घरमा लगाइएको ताला खोलेको हो । सोनम बाहिर निस्किन नमानेपछि किसानहरुले उनलाई भित्रै थुनेर उनिहरुले ताला लगाएर चाबी बडेहाँ प्रहरी बिटलाई बुझाएका थिए ।

सुरो नेपालमार्फत ७५ प्रतिशत अनुदानमा पावर टिलर दिने भनेर गोदावरी –६ की सोनम चौधरीले २०८१ भदौमा ६८ जनाबाट प्रतिव्यक्ति ७० देखि १ लाख २५ हजारसम्म रकम उठाएकी थिइन् ।
२०८१ को मंसिरमा पावर टिलर दिने भनिएपनी पटकपटक धाँउदासमेत आजसम्म उनीहरुले न सामग्री नै पाएका छन् न रकम नै फिर्ता पाएका छन् । सोनमसंग कहिले स्थानीय प्रहरीचौकी त कहिले गाउँमै बसेर उनीहरुले पटकपटक सम्झौता गर्दै आएका थिए ।
अन्तिमपल्ट गत चैतमा भएको सम्झौताअनुसार बैशाख १५ गतेपनी रकम फिर्ता नपाएपछि घरमा ताला लगाउनुपर्ने अवस्था आएको स्थानीय पृथ्वीनारायण चौधरीले बताएका छन् । दुवैपक्ष अहिले अस्थाई प्रहरी पोस्ट बडेहाँको सहजीकरणमा छलफल गरिरहेका छन् ।
बडेहाँकै प्रियङ्का चौधरीले पनि सोही समयमा १०६ जना किसानसंग ७० हजार देखि १ लाख २५ हजारसम्म रकम उठाएको भएपनी उनी केही दिनयता घरमै नभएपछि प्रियङ्कालाई रकम दिएका किसान पनि बिलखबन्दमा परेका छन् ।















