अत्तरिया – खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाहरुको निर्णायक तहमा महिला सहभागिता ५० प्रतिशत पुर्याउन पहल सुरु भएको छ । खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाल र वाटर एण्ड नेपालले सोमबार धनगढीमा आयोजना गरेको प्रदेश स्तरीय खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाहरुमा निर्णायक तहमा महिलाको भूमिका नामक अन्तरक्रियात्मक गोष्ठीमार्फत सो पहल सुरु भएको हो ।
महासंघको समितिमा सो व्यवस्था विद्यानमै कायम तथा कार्यान्वयनमा रहेको भएपनि संस्था तथा समितिहरुमा कार्यान्वय नदेखिएको हुँदा महासंघले सो पहल सुरु गरेको हो । खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपालका अध्यक्ष राजेन्द्र अर्यालको सभाध्यक्षतामा सम्पन्न भएको उक्त गोष्ठीको प्रमुख अतिथ्यता सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले गरेका थिए भने भौतिक पूर्वाधार विकास राज्यमन्त्री निर्मला साउँद विशिष्ठ अतिथि रहेकी थिईन् ।
कार्यक्रममा मन्तव्य राख्दै मुख्यमन्त्री शाहले खानेपानी र सरसफाइसंग महिलाहरु नै अधिक जोडिने भएकोले संस्थाहरुमा पनि महिला सहभागिता ५० प्रतिशत पुर्याउनु पर्नेमा जोड दिए । खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाहरुको निर्णायक तहमा महिलाहरुको प्रतिनिधित्व गराउने कुरामा सबै लाग्नुपर्ने र सुदूरपश्चिम सरकार त्यसका लागि तयार रहेको उनले बताए ।
महिलाले प्रतिनिधित्व गरेका संघ संस्थाहरुले पारदर्शिताको हिसाबले आफुलाई अब्बल साबित गरेको देखिएको हुँदा महिलालाई नेतृत्व दिने कुरामा कन्जुसाई गर्न नहुने शाहले बताए । प्रदेश सरकारको सिमित साधन स्रोतका बाबजुत पनि जनतालाई खानेपानीको पहुँच वृद्धीको प्रयास भईरहेको उनको भनाई थियो । भौतिक पूर्वाधार विकास राज्यमन्त्री साउँदले निर्णायक तहमा महिला सहभागिता ५० प्रतिशत कार्यान्यन गराउने विषय तारिफयोग्य भएको बताईन् ।
उनले महासंघको यो अभियानमा साथ दिन आफुहरु तयार रहेको बताईन् । कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष अर्यालले जनसंख्याको हिसाबले पनि महिलाको संख्या ५१ प्रतिशत भएकोले ५० प्रतिशत महिलालाई नेतृत्वमा अनिवार्य गर्नुपर्ने धारणा राखे । संविधानमा ३३ प्रतिशत महिला सहभागिता अनिवार्य गरिँदा महिला पहिलेभन्दा सहभागिता बढेको देखिएपनि निर्णायक तहमा भने न्युन भएको अर्यालले बताए । निति निर्माणमै महिलाको सहभागिता बढाउनु पर्नेमा अर्यालले जोड दिए ।
कार्यक्रमका सहभागिहरुले महिलालाई नेतृत्व तहमा पुग्न विभिन्न सामाजिक बन्धनहरु बाधक बनेको गुनासो गरे । गेटा खानेपानीकी कोषाध्यक्ष रामवती रानाले महिला व्यापार व्यवसायमा सक्रिय भएपनि निर्णायक भूमिकामा पुरुष नै हुँदा भने आर्थिक रुपमा महिला अझै स्वतन्त्र हुन नसकेको बताईन् ।
खानेपानी संस्थाकै समितिको मुख्य पदमा पुग्नका लागि पनि उपभोक्तहरुले महिलाको क्षमतामाथि प्रश्न उाठँउदा असहज हुने गरेको उनले बताईन् । महासंघका केन्द्रिय सदस्य विष्णु प्रसाद खनालले सञ्चालन गरेको कार्यक्रममा सुदूरपश्चिम प्रदेशका विभिन्न खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।