अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्ट,उप प्रमुख एवम् अनुगमन समितिकी संयोजक शारदा देवी रोकाया र प्रमुख प्रशासकिय अधिकृत हरिदत्त भट्टले खुटिया नदीको अनुगमन गरेका छन् ।
शुक्रबार कार्यपालिका सदस्य चन्द्रा भुल,गोदावरी नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष रामलाल राना,वडा सदस्य उद्धव भट्टराई तथा स्थानीयसहितको उपस्थितिमा नगर प्रमुख,उप प्रमुख र प्रमुख प्रशासकिय अधिकृतले खुटिया नदीको अनुगमन गरेका हुन् ।
बिहिबार कैलालीका प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमाल,जिल्ला समन्वय समितिकी अध्यक्ष टीका कुमारी चौधरी (भुल)सहितको टोलीले खुटिया नदीमा अवैध उत्खनन् गरिरहेका सवारी साधनहरु नियन्त्रणमा लिएको थियो ।
अनुगमनकाक्रममा प्रारम्भिक वातावरणीय परीक्षण (आईई) नगरेको ठाउँबाट नदीजन्य पर्दाथ उठाएको पाइएको भन्दै नगर प्रमुख भट्टले नियन्त्रणमा लिईएका सवारी साधनहरुलाई कानुन बमोजिम कारबाही गरिने बताए ।
मापदण्ड विपरीत उत्खनन् गर्ने कार्य नर्गन उनले ठेकेदार कम्पनीलाई पनि चेतावनी दिए । उप प्रमुख रोकायाले सम्झौता बमोजिम काम गर्न आग्रह गर्दै गैरकानुनी काम गरे कानुन बमोजिम कारबाही गर्ने बताईन् ।
त्यस्तै प्रमुख प्रशासकिय अधिकृत भट्टले नगरपालिकाले ठेक्का लगाएको ठाउँभन्दा बाहिर गएर उत्खनन् गरेको पाईएको बताए ।
आईई गरेको ठाउँभन्दा बाहिर गएर नदीजन्य पर्दाथ उत्खन्न गर्ने सवारी साधनलाई कारबाहीको लागि पत्र नगरपालिकामा पनि पुगेकोले कानुन बमोजिम कारबाही हुने उनले बताए । अनुगमनकाक्रममा एउटा ट्याक्टर नियन्त्रणमा लिइएको छ ।