अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर २ मा रहेको तेघरी सामुदायीक वन उपभोक्ता समूहको २५ औं साधारण सभा सम्पन्न भएको छ । शुक्रबार एक औपचारिक कार्यक्रमका बीच वनको २५ औँ साधारण सभा सम्पन्न भएको हो।
संस्थाकी अध्यक्ष कृष्णा महराको सभापतित्वमा आयोजित साधारण सभाका प्रमुख अतिथी वन सम्पदा राष्ट्रिय महासंघका केन्द्रीय सचिव टिकादत्त जोशी रहेका थिए । साधारण सभामा बोल्दै प्रमुख अतिथि जोशीले वन मानिसको लागि महत्वपूर्ण भएकोले संरक्षण गर्न जरुरी रहेको बताए ।

उनले वन संरक्षणका लागि कार्यसमितिको मात्रै प्रयासले सफल नहुने बताए । वन संरक्षण गर्न उपभोक्तको पनि साथ अनिवार्य रहेको उनको भनाई थियो । त्यस्तै वनकी अध्यक्ष महराले वन संरक्षणका लागि सबै उपभोक्ताहरूको सामूहिक प्रयास आवश्यक रहेको बताईन् ।
उनले सञ्चालक समितिको पहलले मात्र वनको दीर्घकालीन संरक्षण सम्भव नहुने भएकाले प्रत्येक उपभोक्ताले घाँस, दाउराको लागी मात्र नभई जिम्मेवारीपूर्वक वनको रक्षा गर्नुपर्ने आवश्यकता रहेको बताईन् ।
सामुदायिक वनको उचित व्यवस्थापन तथा संरक्षणका लागि स्थानीय समुदायको सक्रिय सहभागिता महत्त्वपूर्ण हुने बताईन। उनले संस्थागत रूपमा नेतृत्व विकास गर्दै सामुदायिक वनको बार्षिक आम्दानी साथै सामुदायिक वनको विधान अनुसार वन सरक्षण गर्दै आइरहेको बताईन् ।
वन संरक्षणका साथै समयसमयमा समितिले वृक्षारोपण पनि गर्दै आइरहेको उनले बताईन् । २०५४ सालमा स्थापना भएको ३४१.८३ हेक्टर क्षेत्रफल रहेको वनमा ९८० जना उपभोक्ताहरू रहेका छन् ।
सभामा आर्थिक वर्ष २०८०्०८१ मा १६ लाख रुपैया बराबरको आयव्यय प्रतिवेदन विवरण सार्वजनिक गरिएको थियो। सभाको कार्यक्रम सञ्चालन वनका सचिव एल आर ओझाले गरेका थिए भने सभा मा विभिन्न संघसंस्थाका प्रतिनिधीहरुको उपस्थिति रहेको थियो ।