अत्तरिया – गायिका एलिना चौहान र विष्णु सापकोटाबीचको वैवाहिकसम्बन्ध कानुनी रुपमै टुंगिएको छ। मंगलबार जिल्ला अदालत काठमाडौँमा एलिना र विष्णुका परिवार उपस्थित भएर सम्बन्ध विच्छेद पत्रमा हस्ताक्षर गरेसँगै उनीहरू सम्बन्ध विच्छेद भएको हो।
सम्बन्ध विच्छेदका लागि एलिनाले केहीदिन पहिले नै अदालतमा निवेदन दिएकी थिइन्। मंगलबार दुवै पक्ष अदालतमा उपस्थित भए पनि अष्ट्रेलियामा रहेका विष्णुले अधिकृत वारेसनामामार्फत सम्बन्ध विच्छेदमा हस्ताक्षेर गरेका हुन्।
विष्णुका बुवाआमा अदालतमा उपस्थित थिए। यस्तै एलिना परिवारसहित उपस्थित भएकी थिइन्। उनले विष्णुसँग कुनै सम्पत्ति नलिई सम्बन्ध विच्छेद गरेकी छन्। उनीहरूले एकअर्काले लगाएका गहना भने फिर्ता गरेनन्। गएको वैशाखमा उनीहरूले विवाह गरेका थिए।
सम्बन्धविच्छेदपछि एलिनाले विष्णुका लागि सामाजिक सञ्जालमा लेखेको पत्र
प्रिय बिष्णु,
अग्निलाई साक्षी राखेर ७ फेरा लगाउदा गलेका खुट्टाहरु अझै उस्तै छन्।
तिम्रो हातले रंगिएको मेरो सिउदो अनि सिन्दुरका डोबहरु अझै उस्तै छन्।
तिम्रा नाममा लगाएका हातभरिका चुरा अनि छिनछिन आवाज अझै उस्तै छन्।
हामीलाई दुईबाट एक बनाएको सेतो लगनको गाँठो अझै उस्तै छ।
वडा कार्यालयमा गएर बनाएको हाम्रो विवाहदर्ताको प्रमाणपत्र अझै उस्तै नयाँ छ।
तर फेरा, चुरा, सिन्दुर, लगनगाँठो, विवाहदर्ता र शारीरिक मिलन मात्रै विवाह होईन रहेछ।
भावनात्मक मिलन, आपसी विश्वास र समझदारी नै विवाहको मुख्य प्राण रहेछ।
जुन रहेन अनि हाम्रो सम्बन्धमा अल्पायु मै पुर्णविराम लागेको छ। यो रहरले होईन। जुन बाध्यता तिमि, मलाई र भगवानलाई मात्र थाहा छ।
आजदेखी स्वतन्त्र भएर कानुनी रुपमै आ-आफ्नो गन्तव्य तय गर्न बाटो खुलेको छ।
पत्नीका रुपमा अधिकारले मैले पाउने सम्पत्ति तिम्रै प्रगति र उन्नतिका लागि छोडेको छु।
तिमीलाई बाँकी जीवनको धेरै धेरै शुभकामना बिष्णु।