अत्तरिया – सुदूरपश्चिम प्रज्ञा-प्रतिष्ठान र नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानको संयुक्त आयोजनामा धनगढीमा प्रादेशिक ललितकला प्रदर्शनी सुरु भएको छ। बिहिबार एक समारोहका बीच सुदूरपश्चिम प्रदेश सभाका सभामुख भीम भण्डारीले प्रदर्शनीको उद्घाटन गरेका हुन्।
सुदूरपश्चिम प्रज्ञा-प्रतिष्ठानको कार्यालय हसनपुर, धनगढीमा जारी प्रदर्शनीमा करिब २ सय कलाकारका कलाकृति प्रदर्शनीमा छन्। उपकुलपति तथा संस्कृतिविद् डा. टीएन जोशीका अनुसार, प्रदर्शनीको उद्देश्य सुदूरपश्चिममा ललितकलाको प्रवर्द्धन गर्दै कलाकारहरूको आर्थिक समृद्धिसँग कला क्षेत्रलाई जोड्नु हो।

उद्घाटन समारोहमा प्रमुख अतिथि सभामुख भीम भण्डारीले सुदूरपश्चिम प्रज्ञा-प्रतिष्ठानलाई अधिकार सम्पन्न बनाउन ऐन संशोधन गरिएको उल्लेख गर्दै कला, साहित्य र संस्कृतिको विकासका लागि एकेडेमी स्वतन्त्र हुनुपर्ने धारणा व्यक्त गरे। नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले कला र सिर्जनाको सम्मान गर्दै नेपाली मौलिक कलाको प्रवर्द्धनका लागि प्रादेशिक प्रदर्शनीको निरन्तरता आवश्यक रहेको बताए।
समारोहमा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरूले सुदूरपश्चिम कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा प्रदर्शनीले महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे। प्रदर्शनी फागुन १२ गतेसम्म बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सर्वसाधारणका लागि खुला रहनेछ।