अत्तरिया – डोटीको पाखो जग्गा भाडामा लिएर अलैँची खेती सुरु गरिएको छ । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर- ८ की रमा कट्टेल (खडायत)ले डोटीको जोरायल गाउँपालिका वडा नम्बर- ५ स्थित गड्सेराको भाम गाउँमा पाखो जग्गा भाडामा लिएर अलैँची खेती सुरु गरेकी हुन् ।
इलामबाट गोल्छाइ र रामछाइ जातको अलैँची ल्याएर गत जेठमा रोपेकोमा फूल्न सुरु भईसकेको छ । खेती सुरु गर्दा करिब १० लाख जति रकम खर्च भएको कट्टेलले बताइन् ।
वर्षौदेखिको बाँझो जमिन भएकोले फडानी गर्न ज्यालामा मान्छे लगाइएको रमाले बताइन् । करिब ३० रोपनी पाखो जमिन भाडामा लिएर खेती सुरु गरेकी रमाले आगामी सिजनमा थप ४० रोपनीमा खेती बिस्तार गर्ने योजनासहित जमिन भाडामा लिएको उनको भनाई छ ।
कृषि ज्ञान केन्द्र डोटीका कार्यालय प्रमुख गंगादत्त अवस्थीले डोटीका पूर्वीचौकी,बडिकेदार लगायतका ठाउँहरुमा पनि अलैँची खेती भइरहेको बताए ।
दुई वर्षअघि ज्ञान केन्द्रमार्फत केहि किसानहरुलाई निशुल्क बिरुवा वितरण गरिएको उनले बताए । चिस्यान,भएको तथा ओसिलो ठाउँमा अलैँची खेती गर्न सकिने उनले बताए ।
बिरुवा लगाइएको एकदेखि डेढ वर्षपछि मात्रै अलैँचीको उत्पादन लिन सकिन्छ । समुद्री सतहबाट ७०० देखि दुई हजार २०० मिटरको उचाइमा वार्षिक एक हजार ५०० देखि पाँच हजार मिलिमिटर वर्षा हुने ठाउँमा अलैँचीको उत्पादन राम्रो हुने बताइन्छ ।