
अत्तरिया – धनगढी उप महानगरपालिकाको आयोजनामा गत फाल्गुन ८ गतेदेखि सिप तथा रोजगार मेला सञ्चालन भइरहेको छ । धनगढीको खुलामञ्चमा सञ्चालन भइरहेको मेलामा उत्साहजनक सहभागिता जुटेको छ ।


मेलामा विभिन्न ८ क्षेत्रका २९ विधामा तालिमहरु सञ्चालन भइरहेका छन् । हरेक दिन बिहान ८ बजेदेखि १२ बजेसम्म र १ बजेदेखि ५ बजेसम्म गरि दुई चरणमा कक्षाहरु सञ्चालन हुने गरेका छन् ।

१८ देखि ४० वर्ष उमेर समूहका एक हजार एक सय २२ जना युवालाई तालिम दिने लक्ष्यसहित अनलाइन आवेदन माग गरिएको थियो । अनलाइनबाट फाराम भर्न कठिन हुनेहरुका लागि वडाबाट कागजमा फाराम भर्न सक्ने व्यवस्था गरिएको थियो ।

निः शुल्क तालिममा सहभागी हुन पाएकोले भविष्यप्रति आशावादी भएको भन्दै मेलाका प्रशिक्षार्थीहरु खुसी देखिन्छन् । उप महानगरले १ हजार १२२ जना माग गर्दा ४ हजार ८३० को आवेदन परेको थियो ।

पुरोहितमा २५ जनाको माग गरिएपनि फाराम भरेकाहरुको आग्रहमा ३० जनालाई अवसर दिइएको छ ।हाल सुदूरपश्चिमका ९ पालिकाका एक हजार ४० जनालाई तालिम दिइँदैछ । हार्डवयर तथा नेटवर्किङका मुख्य प्रशिक्षक भरत भाट प्रशिक्षार्थीहरु निकै चासो दिएर सिकिरहेको बताउँछन् ।

सिप सिकेमा जहाँ जाँदा पनि बेरोजगार बस्न नपर्ने भन्दै उनी भन्छन, “यो सहभागिता देखेर खुसी लागिरहेको छ ।” मेलामा नेलआर्ट सिकाइरहेकी निरुपा कुँवर पनि प्रशिक्षार्थीहरुको सहभागिता उत्साहजनक रहेको बताउँछिन् । 
पछिल्लो समय मेकअप र नेलआर्टको बजार राम्रो रहेको भन्दै उनले भनिन्, “दिदीबहिनीहरु निकै मिहिनेत गरेर सिकिरहनुभएको छ, सिप सिकेपछि व्यक्ति आत्मनिर्भर बन्न सक्छ त्यसैले यस्ता कार्यक्रमहरु अन्य स्थानीय तहहरुले पनि आयोजन गर्न जरुरी छ ।”
















