
अत्तरिया – कैलालीको अत्तरियामा बुधबार बिहान भेटिएको शव बिहिबार बिहानसम्म पहिचान हुन सकेको छैन । गोदावरी १ अत्तरिया चौराहमा रहेको दुर्गा मन्दिर परिसरमा रगताम्मे अवस्थामा एक पुरुषको शव फेला परेको थियो ।
उक्त शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ । इलाका प्रहरी कार्यालय मालाखेतीले दिएको जानकारी अनुसार अन्दाजी ३५/४० वर्षिय पुरुषको शव पोस्टमार्टमका लागि शवगृहमा राखिएको तर पहिचान खुल्न नसकेको र कोहि आफन्त पनि सम्पर्कमा नआएकोले पोस्टमार्टम गर्न पनि समस्या भएको हो ।

मृतकको साथमा कुनै कागजात र व्यक्तिगत सामानहरु समेत नभएकाले पहिचान गर्न गाह्रो भएको प्रहरीको भनाई छ ।
हत्या गरिएको जस्तो देखिने उक्त शव बारे आफ्ना सबै पोस्टहरुमा हुलियासहित पठाइएको भएपनि प्रहारबाट टाउकोको बाँया भाग, आँखा, र अनुहार रगताम्मे अवस्थामा रहेकोले फोटो भने सार्वजनिक नगरिएको प्रहरीले जनाएको छ ।
















