
अत्तरिया – कैलालीको गोदावरी नगरपालिका १ को कृषि हाट बजारसंगै रहेको दुग्ध विकास संस्थान (डीडीसी) धनगढी सार्ने विषय पेचिलो बन्दै गइरहेको छ । डीडीसीले ठाँउ अभाव भएको भन्दै धनगढी सार्ने बताइरहेको छ भने गोदावरीका स्थानीयसहित जनप्रतिनिधि भने सार्न नहुने बरु गोदावरीमै अर्को ठाँउमा जमिन व्यवस्थापन गर्न सकिने बताउँदै आएका छन् ।
सोहि माग लिएर ले धनगढी सार्न नहुने भन्दै गोदावरी गोदावरीका नगर प्रमुख विरेन्द्र भट्ट तथा क्षेत्र नम्बर ४ का जनप्रतिनिहरु मुख्यमन्त्री कार्यालय, कृषि मन्त्रालय र सम्बन्धित कार्यालयहरुमा दौडधुप गरिरहेका छन् । यो टोलीले डीडीसी सार्न नहुने, गोदावरी भित्रै जमीनको व्यवस्थापन भइसकेको भन्दै प्रदेशका मुख्यमन्त्री र कृषि मन्त्रीलाई ज्ञापनपत्र बुझाइसकेको छ । त्यसैक्रममा आज डीडीसी सार्न सकिने गोदावरीका उपयुक्त स्थानहरुको अनुगमन गरिएको छ ।

सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विर बहादुर थापा, अर्थ विकास राज्य मन्त्री प्रकाश बम, प्रदेश सभा सदस्य तुलसी देवकोटा, जानकी कुँवर, खेमा विष्ट, गोदावरीका नगर प्रमुख विरेन्द्र भट्ट, नगर प्रवक्ता गोपाल दत्त भट्ट, सदस्य लोक राज पाण्डे (आगो), चाहना सामुदायिक वन अध्यक्ष भीम विकसहितको टोलीले हाल डीडीसी रहेकै स्थान नजिकको चाहना सामुदायिक वनको जमिन र दिव्य रोजिन एण्ड टर्पेन्टाइन कम्पनी अन्तर्गतको प्रयोगमा नरहेको जमिनको स्थलगत अवलोकन गरेको हो ।
मन्त्री थापाले अवलोकन गरिएका स्थानहरु उपयुक्त रहेको बताए । उनले अत्तरिया सुदूरपश्चिमकै केन्द्रबिन्दु भएकोले जहाँ भएपनि अत्तरियाक्षेत्रमै डीडीसी रहनुपर्ने भनेर आफूहरु लागिरहेको बताए । उनले कानुनी जटिलताहरु थुप्रै भएकोले त्यसका लागि पहल गर्न गोदावरी नगरपालिकालाई आग्रह गरे । अत्तरियाको वातावरण र पूर्वाधार डीडीसी तथा मिल्क पाउडर प्लान्टका लागि समेत उपयुक्त थापाको भनाई छ । उनले वन क्षेत्रको तुलनामा दिव्य रोजिन क्षेत्रको जग्गा प्रयोगमा ल्याउन सहज हुने भएकाले त्यसतर्फ प्राथमिकता दिनुपर्ने बताएका छन् ।
प्रदेश सरकारको योजना अनुसार चालु आर्थिक वर्षमा मिल्क पाउडर प्लान्टका लागि १२ करोड रुपैयाँ विनियोजन गरिएको छ । ४० करोडको बहु–वर्षीय योजना अन्तर्गत डीडीसीसँगै प्लान्ट स्थापना गर्ने योजनाका साथ प्रदेश सरकारले अगाडि सारेको भए पनि आवश्यक जमिनको टुंगो लाग्न बाँकी छ । अवलोकनका क्रममा बोल्दै नगरप्रमुख भट्टले डीडीसीका लागि पर्याप्त गोदावरी क्षेत्रमै वैकल्पिक जमिनको व्यवस्था गर्न सकिने स्पष्ट पारे । उनले अत्तरियाबाट डीडीसी हटाउने प्रयासलाई स्वीकार गर्न नसकिने भन्दै, डीडीसी र प्रस्तावित मिल्क पाउडर प्लान्ट दुवै यहीँ राखिनुपर्नेमा जोड दिए।
उनले भने, “हामी वनबाट आवश्यक जमिन पाउने दिशामा प्रयत्नरत छौँ, डीडीसी अत्तरियामै राख्न सबै उपाय अपनाउनेछौँ।” त्यस्तै, कार्यदल सदस्य लोक राज पाण्डे (आगो)ले डीडीसीका परियोजना प्रमुखले स्थानीयसँग समन्वयबिना धनगढी सार्ने प्रयास गुपचुप रूपमा अघि बढाएको भन्दै त्यसलाई रोक्न जरुरी भएको बताए । गत पुस १६ गते गोदावरी नगरपालिकाका प्रवक्ता भट्टको संयोजकत्वमा डीडीसीका लागि नयाँ स्थान खोज्न समिति गठन गरिएको थियो ।
कार्यदलले चाहना सामुदायिक वन र दिव्य रोजिन क्षेत्रको करिब २ बिगाहा ८ कट्ठा जमिन प्लान्ट स्थापनाका लागि उपयुक्त भएको निष्कर्ष निकालेको थियो । चाहना सामूदायिक वनले पनि जमिन दिन सहमत भएको भन्दै निर्णय नै गरिसकेको छ ।















