आज राष्ट्रिय पत्रकारिता दिवस

Image
maya metro

विभिन्न कार्यक्रम गरी बुधबार ‘१०औँ राष्ट्रिय पत्रकारिता दिवस’ मनाइँदैछ। ‘विश्वसनीय सूचनाको आधार जवाफदेही पत्रकारिता र सुरक्षित पत्रकार’ नाराका साथ पत्रकारिता दिवस मनाउन लागिएको हो।

पत्रकारिता दिवसको अवसरमा देशभर विभिन्न कार्यक्रम गरिनेछ। सञ्चार तथा सूचना प्रविधि मन्त्रलायको आयोजनामा आज दिउँसो १ बजे राष्ट्रपति भवन शीतल निवासमा विशेष समारोह आयोजना हुँदैछ। राष्ट्रपति रामचन्द्र पौडेलले पत्रकारिता क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने व्यक्तित्वलाई पुरस्कारसहित सम्मान गर्नेछन्

nisarga

मन्त्रालयका अनुसार समारोहमा नेपालको पत्रकारिताका क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने दुई जनालाई वरिष्ठ पत्रकार सम्मान प्रदान गरिनेछ। पुरस्कारको राशि दुई लाख रुपैयाँ र कदरपत्र रहेको छ।

यस्तै एक लाख रुपैयाँ र कदरपत्रसहित छ जनालाई राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गरिनेछ। पत्रकारिता दिवसका अवसरमा सरकारले निष्पक्ष, उत्तरदायी, व्यावसायिक, खोजमूलक र विश्लेषणात्मक पत्रकारिताका माध्यमबाट राष्ट्रिय हितको प्रवर्द्धन र जनतालाई सुसूचित गराउन योगदान पुर्‍याएका पत्रकार र आमसञ्चारसम्बन्धी संस्थालाई सम्मान गरिने भएको हो।

‘गोरखापत्र’ प्रकाशन भएको दिनको अवसर पारेर वैशाख २४ गते राष्ट्रिय पत्रकारिता दिवस मनाइन्छ। सरकारले २०७३ सालमा पत्रकारिता दिवस राष्ट्रिय रूपमै मनाउन मान्यता दिएको थियो। वैशाख २४ गतेदेखि यो दिवस मनाउन थालिएको हो।

१९५८ वैशाख २४ गते साप्ताहिक रूपमा गोरखापत्रको प्रकाशन शुरु भएको हो।

गोरखापत्र प्रकाशनको १२५औँ वर्ष प्रवेश तथा गोरखापत्र संस्थानको ६३औँ वार्षिकोत्सवका उपलक्ष्यमा राष्ट्रिय सभागृहमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा कार्यक्रम हुनेछ।