
अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाले बजार अनुगमनलाई तीव्रता दिएको छ। चाडपर्व नजिकिएसँगै नगरपालिकाले खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण कार्यालय धनगढीको सहकार्यमा अत्तरिया बजार क्षेत्रमा अनुगमन गरेको हो।
अनुगमनका क्रममा विभिन्न होटल तथा खाद्य व्यवसायबाट स्वास्थ्यका लागि उपयुक्त नमानिएका प्लास्टिकका चपिङ बोर्ड (काट्ने बोर्ड) बरामद गरिएको छ। नगरपालिकाले होटल व्यवसायीलाई खाद्य सामग्री काट्न तथा तयारी गर्न काठका चपिङ बोर्ड प्रयोग गर्न निर्देशन दिएको जनाएको छ।

त्यस्तै किराना तथा खाद्य सामग्री बिक्री गर्ने पसलहरूको अनुगमनका क्रममा १६ प्याकेट म्याद नाघेका भुजा, ढुसी लागेको मिठाई तथा सडेगलेका खाद्यवस्तु फेला परेको नगरपालिकाले जनाएको छ। अनुगमन टोलीले बरामद गरेका अखाद्य तथा म्याद नाघेका खाद्य सामग्री नष्ट गरेको छ।
चाडपर्वका समयमा खाद्य सामग्रीको बिक्री–वितरण बढ्ने भएकाले म्याद नाघेका, गुणस्तरहीन तथा अखाद्य वस्तुको बिक्री हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै बजार अनुगमनलाई प्राथमिकता दिइएको नगरपालिकाले जनाएको छ।
गोदावरी नगरपालिकाकी उपप्रमुख शारदा देवी रोकायाले चाडपर्वलाई लक्षित गरी बजारमा खाद्य सामग्रीको गुणस्तर र स्वच्छता कायम गराउन अनुगमन गरिएको बताइन्।
चाडपर्वको समयमा खाद्य सामग्रीमा मिसावट हुने, म्याद नाघेका तथा अखाद्य वस्तु बिक्री हुने सम्भावना बढी हुन्छ। यस्ता गतिविधिलाई न्यूनीकरण गर्न बजार अनुगमन गरिएको उनले भनिन्। उपप्रमुख रोकायाले उपभोक्ताको स्वास्थ्य तथा हित संरक्षणका लागि नगरपालिकाले नियमित रूपमा बजार अनुगमनलाई निरन्तरता दिने बताइन्। उनले उपभोक्तालाई खाद्य सामग्री खरिद गर्दा उत्पादन मिति, उपभोग्य मिति, लेबल तथा गुणस्तरसम्बन्धी विवरण जाँच गरेर मात्र खरिद गर्न आग्रह गरिन्।
अखाद्य वा म्याद नाघेका वस्तु बिक्री–वितरण भइरहेको भेटिएमा नगरपालिका वा सम्बन्धित निकायलाई जानकारी गराउन आग्रह गर्दै उनले प्राप्त सूचनाका आधारमा तत्काल अनुगमन गरी आवश्यक कारबाही गरिने बताइन्। अनुगमन नगरपालिकाको मुख्य बजार क्षेत्रमा मात्र सीमित हुँदैन। नगरपालिका क्षेत्रका वडा–वडामा समेत आवश्यकता अनुसार सक्रिय रूपमा बजार अनुगमन गरिनेउपप्रमुख रोकायाले भनिन्।
यस्तै गोदावरी नगरपालिका–१ का वडाध्यक्ष तथा नगर प्रवक्ता गोपाल दत्त भट्टले चाडपर्वका समयमा बजारमा किनमेल बढ्ने भएकाले अखाद्य तथा गुणस्तरहीन वस्तुको बिक्री–वितरण रोक्न समयमै बजार अनुगमन गरिएको बताए। उनले उपभोक्ताको स्वास्थ्य सँग प्रत्यक्ष जोडिएका दैनिक उपभोग्य वस्तुको गुणस्तर कायम गरी बिक्री–वितरण गर्न व्यवसायीलाई आग्रह गरे। अखाद्य वा म्याद नाघेका वस्तु बिक्री–वितरण गरेको पाइएमा प्रचलित कानुनअनुसार कारबाही तथा जरिवाना गरिने उनले बताए। व्यवसायीले उपभोक्ताको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर खाद्य सामग्रीको गुणस्तर कायम गर्नुपर्छ। अनुगमनका क्रममा अखाद्य वस्तु बिक्री गरेको पाइएमा नगरपालिकाले नियमानुसार कारबाही गर्छ,” प्रवक्ता भट्टले भने।
खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण कार्यालय धनगढीका नायब प्राविधिक सहायक तोयनाथ ओझाले नगरपालिकाको आह्वानमा नगर क्षेत्रका विभिन्न बजारमा अनुगमन भइरहेको जानकारी दिए। उनले अनुगमनका क्रममा विभिन्न म्याद सकिएका मरमसला, खाद्य तथा पेय पदार्थलगायत सामग्री बरामद गरिएको बताउँदै खाद्य सामग्रीको स्वच्छता तथा सरसफाइमा विशेष ध्यान दिन र अखाद्य वस्तु बिक्री–वितरण नगर्न व्यवसायीलाई निर्देशन दिइएको बताए। ओझाले उपभोक्तालाई पनि आफूले खरिद गर्ने सामग्रीको म्याद, लेबल, प्याकेजिङ तथा गुणस्तर जाँच गरेर मात्र खरिद गर्न आग्रह गरे।















