नदीजन्य पदार्थको ठेक्का प्रक्रियालाई लिएर गोदावरी नगरपालिकामा हुलदंगा(भिडियो)

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकामा नदीजन्य पदार्थको ठेक्का प्रक्रियालाई लिएर बुधबार हुलदंगाको अवस्था सिर्जना भएको छ ।

गोदावरी नगरपालिकाले नदीजन्य पदार्थ उत्खनन् तथा निकासाका लागि ठेक्का आह्वान गरेको थियो । आज मध्यान्ह १२ बजे बोलपत्र पेश गर्ने अन्तिम समय तोकिएको थियो ।

nisarga

ठेक्का प्रक्रियामा मिलेमतो हुन लागेको आशंका व्यक्त गर्दै सयौँको संख्यामा युवाहरू नगरपालिकामा भेला भएका थिए । मिलेमतोमा सिमित कम्पनीले मात्रै ठेक्का दर्ता गर्ने र अरुलाई निषेध गर्ने प्रयास गरेपछि केही समय तनावपूर्ण अवस्था बनेको हो ।

नगरपालिकाले नदीजन्य पदार्थको ठेक्का प्रक्रियाका लागि विद्युतीय बोलपत्र (ई–बिडिङ) प्रणालीले काम नगरेपछि कागजी बोलपत्र प्रक्रियाबाट ठेक्का अघि बढाएको थियो ।

एक पक्षले त्यसमा मिलेमतो गरिएको र आफूहरुलाई दर्ता गर्न नदिएको आरोप लगाएका थिए । गोदावरी नगरपालिकाका इन्जिनियर पूर्ण कुँवरका अनुसार यसअघि ई–बिडिङ प्रणालीमार्फत ठेक्का प्रक्रिया सम्पन्न हुँदै आएको भए पनि यसपटक ई–बिडिङ प्रणालीमा समस्या आएपछि कागजी प्रक्रियाबाट ठेक्का अघि बढाइएको थियो ।

सो क्रममा कार्यालयमा हुलदंगाको अवस्था सिर्जना भएपछि आफूहरुलाई ज्यानै जोगाउन मुस्किल भएको उनले बताए । भिड शान्त गर्न इलाका प्रहरी कार्यालय मालाखेती र सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ वैद्यनाथ बाहिनीको टोली खटिएको थियो ।

गोदावरीका तीन वटा नदीको ठेक्काका लागि तीन कम्पनीले मात्रै दर्ता गर्ने प्रयास गरिएको भए पनि अन्तिममा गोदावरी नदीका लागि ८ वटा, खैराना नदीका लागि तीन वटा र खुटिया नदीका लागि ५ वटा कम्पनीले बोलपत्र पेश गरेका छन् ।

ठेक्का प्रक्रिया कानुन र प्रचलित व्यवस्थाअनुसार अघि बढाउने कुँवरले बताएका छन् ।