
डोटी – भायानेट कम्युनिकेशनले सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा जडान गरेको इन्टरनेट सेवा प्रभावकारी देखिएको छैन । इन्टरनेट सेवा गुणस्तरीय नहुँदा सेवाग्राही संस्थाहरु मारमा परेका छन् । नेट जडान भएका अधिकांश ठाउँहरुमा एक महिना पनि राम्रोसँग इन्टरनेट नचलेको सेवाग्राहीहरुको गुनासो छ ।
प्राधिकरणको ठुलो लगानीमा जडान गरिएको इन्टरनेट नचले पछि नेटका सामग्रीहरु प्रयोग विहिन भएका छन् । नेट जडान गरिएका स्थानीय तह, वडा, स्वास्थ्य संस्था र विद्यालयहरुमा महिनौं देखि इन्टरनेट सेवा अवरुद्ध छ । सेवाग्राही संस्थाले नेटका सामग्रीहरु थन्क्याएका छन् ।

नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार कोषबाट डोटी लगायत सुदूरपश्चिमका ४ जिल्लामा भायानेट कम्युनिकेशनले इन्टरनेट जडान गरेको थियो । प्राधिकरणको टेण्डर हात पारेर भायानेटले डोटी, बैतडी, दार्चुला र डडेल्धुरा जिल्लाका विभिन्न पालिकाहरु गरि ८ सय २६ वटा संस्थामा ब्रोडब्यान्ड नेटवर्क जडान गरेको थियो ।
तीन वर्ष अघि निःशुल्क इन्टरनेट जडान गरिएका अधिकांश नगरपालिका, गाउँपालिका, वडा कार्यालय, सामुदायिक विद्यालय, सामुदायिक स्वास्थ्य संस्था÷केन्द्र र अस्पतालहरुमा नेटले काम गर्न छोडेको छ । इन्टरनेटले काम नगरेपछि कतिपय संस्थाले अन्य विकल्पहरु खोजेका छन् भने कतिपय संस्थाहरु मर्मत र क्षमता वृद्धिको पर्खामा छन् ।
बडीकेदार गाउँपालिकाका ४ वटा स्थास्थ्य चौकी, ८ वटा सामुदायिक विद्यालय, ५ वटा वडा कार्यालयमा ५५६ केबी पिएचको भाया नेट विस्तार गरिए पनि हाल अधिकांशमा सञ्चालनमा नरहेको गाउँपालिकाका सूचना अधिकारी टोप बहादुर चन्दले बताए । जडान गरिएको सुरुवात देखि नै नेटले काम नगर्ने समस्या देखा परेको उनले बताए ।
इनटरनेटले काम नगर्दा विद्यालयको प्रशासनिक कामकाज र विद्यार्थीहरुलाई बढाउन निकै समस्या भएको शिवजी माविका प्रधानाध्यापक दुर्गाप्रशाद ओझाले बताए । सुरुको एक महिना नेटले अलिअलि काम गरे पनि त्यस यता नेटमा समस्या आईरहने गरेको उनको गुनासो छ । भायानेट कम्पनीले प्राधिकरणबाट करोडौं रुपैंया लिएर आफुहरुलाई गुणस्तरीय सेवा नदिएको बताउँदै आफुहरु सो कम्पनीबाट ठगिएको उनले बताए ।
नेटमा समस्या आएको कुरा कम्पनी तथा गाउँपालिकालाई पटक–पटक जानकारी गराउँदा पनी बेवास्था गर्ने गरेको केदारेश्वर माध्यमिक विद्यालयका लेखापाल प्रकाश चन्दले बताए । ‘हामीले सेवा वाफतको पैसा तिर्छौं, गुणस्तरीय सेवा दिनुप¥यो भनेर आग्रह गरेउँ तर जडान गरिसकेपछि कोही मान्छे आउँदैन,‘उनले गुनासो गरे ।’
विकट क्षेत्रहरुमा मौसमको खरावी,ब्याट्रीको चोरी, टावरमा क्षति हुने गरेकाले समस्या आउने गरेको भायानेट कम्युनिकेशनका प्रतिनिधि गजेन्द्र बोहराले बताए ।
२०७६ साल चैतसम्म निःशुल्क इन्टरनेटको अवधि भए तापनि कोरोना भाइरस सङ्क्रमणका कारण सेवा प्रवाहलाई निरन्तरता दिएर २०७७ असोज महिना सम्म गरिएको थियो । निःशुल्क अवधि सकिएपछि ब्रोडब्यान्ड इन्टरनेटको सेवाका लागि सम्बन्धित निकायले प्राधिकरणबाट स्वीकृत गरेको महसुल दरमा सेवा प्रदायकहरुसँग सम्झौता गरी निरन्तर इन्टरनेट सेवा प्रदान गर्नुपर्ने सम्झौता भएको थियो । तर, भाया नेटले इन्टरनेट जडान गरिसके पछि चटक्कै छोडेको छ । सेवा निरन्तर नहुँदा सेवाग्राही सामुदायक संस्थाहरु मारमा परेका छन् ।
भाया नेटको इन्टरनेटले अन्य पालिका र जिल्लाहरुमा पनि काम गर्न छोडेको छ । काम गरेका ठाउँमा पनि निकै सुस्त गतिमा चल्ने गरेको र मेल समेत गर्न नमिल्ने सेवाग्राही संस्थाहरुको गुनासो छ ।
















