आज यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा

Image
maya metro

काठमाडौँ – हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसका साथै अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ।

जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ। देशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

nisarga

आज दिउँसो लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासँगै हिमपातको सम्भावना रहेको छ। मधेस प्रदेश लगायत लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको समेत  सम्भावना रहेको छ ।

आज राति देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी  र गण्डकी प्रदेशको  पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासँगै हिमपातको सम्भावना रहेको छ ।

कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।