
सुर्खेत – कर्णाली प्रदेशका कार्यवाहक प्रदेश प्रमुख नजिर मियाँ र प्रदेश सरकारका मुख्यमन्त्री यमलाल कडेलबीच शनिबार सुर्खेतमा महत्वपूर्ण भेटवार्ता सम्पन्न भएको छ। कार्यवाहक प्रदेश प्रमुखको रूपमा सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख मियाँले कर्णाली प्रदेशको जिम्मेवारी पनि सम्हालिरहेका छन्।
मुख्यमन्त्री कडेलले प्रदेश प्रमुख मियाँलाई स्वागत गर्दै बधाई दिएका थिए। उनले कर्णाली प्रदेशको समृद्धिका लागि नीति तथा कार्यक्रम निर्माणको अन्तिम तयारीमा रहेको जानकारी गराएका थिए। कडेलका अनुसार प्रदेश सरकारले २१ जेठभित्र नीति तथा कार्यक्रम प्रदेशसभामा पेश गर्ने लक्ष्य लिएको छ।

“हामीले नीति तथा कार्यक्रम ल्याउने सबै तयारी पूरा गरिरहेका छौं,” मुख्यमन्त्री कडेलले भने, “२१ गतेभित्रै यसलाई सार्वजनिक गर्नेछौं।” उनले नीति तथा कार्यक्रम कर्णाली प्रदेशको समृद्धि र दिगो विकासलाई केन्द्रमा राखेर बनाइने जानकारी समेत गराएका थिए।
भेटका क्रममा प्रदेश प्रमुख मियाँले प्रदेश सरकारको सक्रियतालाई स्वागत गर्दै नीति तथा कार्यक्रम समावेशी, व्यावहारिक र विकासमुखी बनाउने सुझाव दिए। उनले कर्णाली प्रदेशको विशिष्टता, चुनौती र सम्भावनालाई ध्यानमा राखी नीति निर्माण गर्न आग्रह गरे।
उक्त भेटमा प्रदेश प्रमुखका प्रमुख स्वकीय सचिव साबिर अली, सञ्चार संयोजक भानुभक्त आचार्य, मुख्यमन्त्रीका सञ्चार संयोजक यसकुमार चपाईलगायत अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
प्रदेश सरकारद्वारा प्रस्तावित नीति तथा कार्यक्रममार्फत कृषि, पर्यटन, ऊर्जा, स्वास्थ्य र पूर्वाधार विकासमा जोड दिइने अनुमान गरिएको छ।















