कञ्चनपुरका चार पालिकामा आज सार्वजनिक बिदा

Image
maya metro

कञ्चनपुर – कञ्चनपुरका चार पालिकाले आज सार्वजनिक बिदा दिएका छन्। बेलौरी नगरपालिका–५ स्थित भकुण्डामा लाग्ने गङ्गादशहरा मेलाका अवसरमा यहाँका चार पालिकाले सार्वजनिक बिदा दिएका हुन्।

जिल्लाको बेलौरी र पुनर्वास नगरपालिका, बेल्डाँडी गाउँपालिकाले बिहीबार एक दिनको बिदा दिएको छ। लालझाडी गाउँपालिकाले बिहीबार र शुक्रबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

nisarga

बेलौरी नगरपालिकाका प्रमुख पोतिलाल चौधरीले नगरपालिकाको प्रमुख धार्मिक गन्तव्य भकुण्डामा लाग्ने मेलाका लागि पालिकाले एक दिन सार्वजनिक बिदा दिएको बताए।

उनका अनुसार बेलौरी नगरपालिकास्थित वडा नं. ५ मा रहेको प्रसिद्ध धार्मिकस्थल नक्टाबाबा (कालेश्वर महादेव) मन्दिरमा हरेक वर्ष ज्येठ महिनाको शुक्लपक्ष दशमी तिथिका दिन गङ्गा दशहरा मेला लाग्छ।

नक्टाबाबा मन्दिरमा परापूर्वकालदेखि नै ठूलो मेला लाग्ने गरेको बेलौरी नगरपालिका-५ का वडाअध्यक्ष लालबहादुर चौधरीले जानकारी दिए। वडाध्यक्ष चौधरीले यस क्षेत्रलाई धार्मिक सम्पदाको सूचीमा राख्नका लागि नगरपालिकाबाट पहल भइरहेको बताए।

मेलामा कञ्चनपुर, कैलाली र बर्दिया जिल्लाबाट र छिमेकी मुलुक भारतका खिरी, बरेली, कानपुर, लखनउलगायत क्षेत्रबाट यहाँ दर्शनार्थी आउने गरेका छन्।