
अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर- २ मा रहेको अत्तरिया साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले १६ औं वार्षिक साधारण सभा सम्पन्न गरेकोे छ । झण्डै १७ वर्षदेखि गोदावरीबासीलाई शुद्ध खानेपानी खुवाउँदै आइरहेको उक्त संस्थाले शनिबार एक कार्यक्रमका बिच १६ औ वार्षिक साधारण सभा सम्पन्न गरेकोे हो । संस्थाका कार्यबाहक अध्यक्ष शेर बहादुर विष्टको सभा अध्यक्षतामा आयोजित कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्ट रहेका थिए ।
साधारण सभामा बोल्दै नगर प्रमुख भट्टले संस्थाको विकासका लागि सबैको व्यक्तिको हातेमालो आवश्यक रहेको बताए । उनले नगरपालिकाका तर्फबाट आफू सधैँ सहयोगकालागि तयार रहेको बताए । यस्ता खालका संस्थाहरु स्थानीय सरकारलाई आवश्यक रहेको बताए ।

उनले अत्तरिया प्रदेशको प्रस्तावित राजधानी पनि भएकोले फोहोरमैला व्यवस्थापन लगायतका विषयहरु पनि चुनौतीका रुपमा रहेको बताए । पछिल्लो समय जलवायु परिवर्तनका कारण डिप बोरिङहरु सुक्नेक्रम बढेकोले पानीको मुहान खोज्न आवश्यक रहेको र त्यसमा सहयोग गर्न स्थानीय सरकार तयार रहेको उनले बताए ।
संस्थाका संस्थापक अध्यक्ष एवम् सल्लाहकार समितिका संयोजक उक्तम कठायतले शून्यबाट सुरु भएको अत्तरिया खानेपानी अहिले नमूनाका रुपमा अगाडि बढीरहेको बताए । उनले यस्मा सञ्चालक समिति,कर्मचारी, उपभोक्ता, तथा तीनै तहका सरकारहरुको मुख्य भूमिका रहेको बताए । झण्डै १७ वर्षदेखि अत्तरिया बासीलाई शुद्ध पानी खुवाउने प्रयासमा अत्तरिया खानेपानी रहेको उनले बताए । कार्यक्रममा बोाल्दै राष्ट्रिय योजना आयोगका पूर्व अध्यक्ष विजय कुँवरले पानी जीवनका लागि अति आवश्यक भएको बताए ।
प्रतिभा सामुदायिक पुस्तकालयमा अध्यक्ष एवम् अत्तरिया खानेपानीका संस्थापक सचिव पुष्पराज जोशीले निर्माणकाक्रममा थुप्रै चुनौतीहरु सामना गर्नु परे पनि संसथाको हालको प्रगतिले गौरान्वित भएको बताए । समाजसेवी लोकराज पाण्डे आगोले थुप्रै संस्थाहरुको बिचमा अत्तरिया खानेपानी भैष्टाचार, विवाद लगायतका कुराहरुबाट अछुतो रहेको बताए ।
त्यस्तै खानेपानीका उपभोक्ता धनराज जोशीले पानी नियमित हुनुपर्ने बताए । पानी स्वास्थ्यका लागि महत्वपूर्ण कुरा भएकोले गुणस्तरमा ध्यान दिन उनले समिति र कर्मचारीहरुलाई आग्रह गरे । स्वच्छ पानी पिउन पाउनु नागरिकको नैसर्गिक अधिकार भएकोले विपन्न परिवारको घरमा निशुल्क रुपमा धारा जडान गर्न उनले आग्रह गरे ।

त्यस्तै अर्की सुमित्रा सोबले पनि खानेपानी मानिसको स्वास्थ्यसंग सवाल राख्ने भएकोले कहिले धमीलो,लेदो तथा बढी औषधी हालेर वितरण नर्गन आग्रह गरिन् । खानेपानी आएपछि घरमा रहेको हाते कलहरु विस्थापीत भइसकेको हुँदा पानी वितरण निरन्तर गर्न उनले आग्रह गरिन् । उनले पानीको बोरिङहरु सुकेर पानी अभाव हुनसक्ने स्थाई मुहान खोज्नु आवश्यक रहेको उनले बताइन् । संस्थाले पार्षद सदस्यहरुको उपस्थितिमा गत आर्थिक वर्ष २०८०/८१ को साधारण सभा आयोजना गरेको हो ।
संस्थाले गत आर्थिक वर्षमा ४ करोड २७ लाख ९४ हजार ८९ रुपियाँ आम्दानी गरेको छ भने ३ करोड ६४ लाख ६० हजार ४४३ रुपियाँ खर्च गरि ६३ लाख ३३ हजार ६४६ रुपियाँ रकम बचत गरेको छ । संस्थाले आगामी आर्थिक वर्ष २०८२ ८३ मा ९ करोड ५७ लाख २३ हजार ४४२ रुपियाँ आम्दानी तथा खर्च हुने अनुमान गरेको छ । संस्थाका सचिव पुष्पराज चटौतको संयोजकत्वमा ९ सदस्यीय खानेपानी सुरक्षा योजना समिति गठन गरिएको संस्थाले जनाएको छ ।
त्यस्तै खानेपानीको गुणस्तर कायम राख्न २ थान प्रेशर फिल्टर जडान गरिएको र कार्यालयभित्र २ कोठे शौचालय निर्माण गरिएको जनाइएको छ । त्यसैगरि गोदावरी आर्यघाटमा फोहोर व्यवस्थापनका लागि २ थान फोहोर डिस्पोजल च्याम्बर जडान गरिएको, नयाँ निर्माण गरिएको कार्यालयमा र वनदेवी स्थीत साइड अफिसमा सीसीटिभी जडान गरिएको र आयोजनाको दिर्घकालिन योजनाका लागि आयोजना क्षेत्रको घरधुरी सर्वे गरिएको संस्थाले जनाएको छ ।
गहिरो भएकोले कार्यालयको ग्राउण्ड भरान भरिएको, आयोजनाका भित्री सडकहरुमा विभिन्न साइजका करिव ५ किलोमिटर पाईपलाइन जडान गरिएको , बिलिर स्टोरका लागि ट्रष्टभवन निर्माण गरिएको र उपभोक्ताहरुलाई चाँडो सेवा दिनका निमिक्त प्लम्बर, सहायक प्लम्बर र हेल्परहरुलाई ई–साईकिलको सुविधा दिईएको जनाइएको छ । एक घर एक धाराको अवधारणालाई आत्मसाथ गर्दै आ.ब. २०८५ सम्ममा यस उपभोक्ता संस्थाको कार्यक्षेत्र÷आयोजना क्षेत्र भित्रको भागमा सबै घरमा खानेपानीको धारा जडान गर्ने गराउने आगामी लक्ष्य रहेको संस्थाले जनाएको छ ।
आयोजना क्षेत्र भित्रका शाखा लाइनहरुमा खानेपानीका पाईप लाईनहरु दुबै साईड विस्तार गर्ने र आयोजनाको सेवा क्षेत्रको सम्पूर्ण वस्तुस्थितिको विस्तृत सामाजिक सर्भेक्षण गरी आवश्यकता अनुसार डिजाईन पुनरावलोकन गरी वितरण प्रणालीलाई व्यवस्थित गर्ने लक्ष्य रहेको पनि संस्थाले साधारण सभामा बताएको छ ।

आयोजनाको डिजिटल ले–आउट सहितको नक्सा तयार गर्ने, खानेपानीका मुहानहरुमा डिजिटल फ्लो मिटरहरु जडान गर्ने, पाईपलाइन मर्मतका लागी खन्ने पुर्ने साधनको लागी पहल गर्ने, संस्थाका प्रशारण लाईन, भल्व, पम्पहरु आदि कार्य अनलाईन सिस्टमबाट संचालन गर्ने संस्थाको लक्ष्य रहेको छ । त्यसैगरि मिटर रिडर पुर्ण रुपमा डिजिटलाईजेसन गर्ने र सम्पुर्ण एरियाको मिटर रिडिङ् पश्चात उपभोक्ताहरुको मोवाइलमा बिल रकम म्यासेजद्धारा पठाउने लक्ष्य रहेको अत्तरिया खानेपानीले जनाएको छ ।
बोरिङहरुमा पानीको लेवल घटेको तथा बोरिङ गरेको भित्रीभागमा पहिरो जाने क्रममा कहिले काहि धमिलो पानी आउने चुनौती रहेको संस्थाले उल्लेख गरेको छ । त्यस्तै खानेपानी वितरण प्रणालीको पाईपलाइन र हाउस कनेक्सनमा पानीको लिकेजको शंका रहेको तर पत्ता लगाउने उपकरणहरु नहुँदा गाह्रो भएको बताउँदै सडकको सतहदेखि गहिराईमा रहेका र पानी जम्ने सतहमा रहेका पानीका पाईपलाइन संचालनमा चुनौती रहेको संस्थाको भनाई छ ।
आयोजना क्षेत्र भित्रका बाटोहरु पिच तथा नालीबनाउने क्रममा धेरै स्थानहरुमा (डोजर÷जेसिवीबाट) पाईपलाइनमा क्षति पुर्याउँदा नोक्सानी ब्यहोर्नु परिरहेको संस्थाले दुखेसो गरेको छ । बसाईसराई गरि आउने सङ्ख्या वृद्धी हुँदा नयाँ बाटोहरु खुल्नेक्रम पनि बढेकाले डिजाईनभन्दा बढी पाईपलाइन बिछ्याउनु परेको संस्थाले जनाएको छ । महासचिव महादेव भट्टको स्वागत मन्तव्यसंगै सुरु भएको कार्यक्रममा कोषाध्यक्ष लक्ष्मण बहादुर कठायतले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए भने संस्थाका सचिव पुष्पराज चटौतले कार्यक्रम सञ्चालन गरेका थिए ।
२०६० सालमा दर्ता भएको अत्तरिया साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले गोदावरी नगरपालिका वडा नम्बर १, २ र ४ का ५ हजार २ सय भन्दा बढी उपभोक्ताहरुलाई स्वच्छ खानेपानी वितरण गर्दै आइरहेको छ । साधारण सभा २०८१ चैत्रमै गर्नुपर्ने भएपनि संस्थाका अध्यक्ष टिकादत्त जोशीको असामयिक निधनका कारण ढिलो हुन पुगेको संस्थाले जनाएको छ । संस्थापक सदस्य, पूर्व सल्लाहकार संयोजक तथा वरिष्ठ समाजसेवी समेत रहेका जोशीको निधनले संस्थाले ठुलो क्षति व्यहर्नु परेको भन्दै जोशीको सपना साकार गर्न कार्यसमिति तल्लिन रहेको संस्थाका कार्यवाहक अध्यक्ष विष्टले बताएका छन् ।















