गोदावरीमा १५ दिने बाध्यवादन प्रशिक्षण कार्यशाला सम्पन्न

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकामा १५ दिने बाध्यवादन प्रशिक्षण कार्यशाला सम्पन्न भएको छ । गोदावरी नगरपालिकाको सहकार्यमा राष्ट्रिय लोक सांस्कृतिक प्रतिष्ठानले आयोजना गरेको प्रशिक्षण मंगलबार सम्पन्न भएको हो ।

समापन कार्यक्रममा सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री मेघराज खड्का, गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्ट, उप प्रमुख शारदा देवी रोकाया लगायतको उपस्थिति रहेको थियो ।

nisarga

समापन कार्यक्रममा बोल्दै मन्त्री खड्काले संगीतले मानसिक तनाव कम गर्न सहयोग गर्ने बताए । पछिल्लो समय अधिकांश मानिसहरुमा मानसिक समस्या देखिने गरेको भन्दै यस्ता कार्यक्रमहरु आवश्यक रहेको उनले बताए ।

त्यस्तै नगर प्रमुख भट्टले संगीतको कला पछिल्लो पुस्ताले बिर्सिदै गएको बताए । ढोलक, मादल, तबला लगायतका बाजाहरुको संरक्षण गर्नु स्थानीय तहको दायित्व सम्झेर प्रतिष्ठानसंग सहकार्य गरेको बताए ।

कार्यक्रममा आफ्नो भनाई राख्दै उप प्रमुख रोकायाले संगीत सिकेर पेशागत रुपमा समेत अघि बढ्न सकिने बताइन् । उनले संगीतले राष्ट्रिय तथा अन्र्तराष्ट्रियरुपमा परिचय बनाउन सकिने भन्दै सिकेको कुराहरुलाई व्यवहारमा उतार्न प्रशिक्षार्थीहरुलाई आग्रह गरिन् ।

राष्ट्रिय लोक सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष लिलाधर बास्कोटाले ४५ जना महिला तथा पुरुषहरुलाई बाध्यवादन प्रशिक्षण प्रदान गरिएको बताए । उनले संगीत सिक्न यो समय पर्याप्त नभए पनि केहि सहज हुने बताए ।