
अत्तरिया – कैलालीको गोदावरीमा लागूऔषध दुव्र्यसनी न्यूनिकरण सम्बन्धि सात दिने सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
विद्यार्थी युवा युवतीहरुलाई अत्तरियाका सञ्चार संघले आयोजना गरेको लागूऔषध दुव्र्यसनी न्यूनिकरण सम्बन्धि सात दिने सचेतना कार्यक्रममा कार्यक्रममा गोदावरी नगरपालिकाले सहयोग गरेको थियो ।

नगरका विभिन्न ७ वटा विद्यालयमा आयोजन गरिएको उक्त कार्यक्रम वडा नम्बर ३ स्थित नवज्योती माविमा बिहिबार समापन गरिएको हो ।
अत्तरिया सञ्चार संघका महासचिव धुर्व ओझाको सभाअध्यक्षतामा सम्पन्न भएको समापन कार्यक्रममा गोदावरी नगरपालिकाकी उप प्रमुख शारदा देवी रोकाया प्रमुख अतिथि रहेकी थिइन् ।
कार्यक्रममा बोल्दै उप प्रमुख रोकायाले लागूऔषध न्यूनिकरण गर्न सचेतनामुलक कार्यक्रम अनिवार्य रहेको महसुस गरि नगरपालिकाले यसप्रकारका कार्यक्रम गरिरहेको बताइन् ।
उनले पक्राउ गर्ने र मुद्धा चलाउने काम मात्रै गर्नुभन्दा लागूऔषध दुव्र्यसनीबारे सचेतना फैलाउँदा अझै प्रभावकारी हुनेमा आफू विश्वस्त रहेको बताइन् ।
त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि वडा नम्बर ३ का वडा अध्यक्ष तेजराज अवस्थीले आगामी दिनमा पनि यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिने बताए ।
इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक रण बहादुर चन्दले किशोरावस्थाका अधिकांश व्यक्तिहरु जानीनजानी लागूऔषधमा फस्ने भएको हुँदा विद्यालय स्तर देखि नै सचेतनामुलक कार्यक्रम अनिवार्य देखिएको बताए ।
उनले लागूऔषधले समाजमा जरा गाडेर बसेको र पछिल्लो समय प्राय हरेक टोल, परिवारको समस्याका रुपमा लागूऔषध सेवन देखिएको बताए ।
लागूऔषधले जीवन नै तहसनहस पार्ने भएकोल यस्तोमा आफू पनि नफस्न र समाजका अरुलाई समेत सचेत बनाउन विद्यार्थीलाई आग्रह गरे ।
समापन कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चक्र नागरी, विद्यालयकी प्रधानाध्यापक बसन्ती भट्ट लगायत शिक्षक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमका सभाध्यक्ष रहेका ओझाले कार्यक्रम आयोजन गर्न सहयोग गर्ने गोदावरी नगरपालिका लगायत समपूर्णलाई धन्यवाद व्यत्ति गरेका थिए ।
कार्यक्रम अवधीभर मुख्य प्रशिक्षकका रुपमा इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी निरीक्षक ईन्द्रराज भट्ट रहेका थिए भने सहायक प्रशिक्षक गोपाल जोशी रहेका थिए ।














