बडिमालिका मन्दिर पुनर्निर्माण सम्पन्न

Image
maya metro

अत्तरिया – धार्मीक तथा पर्यटकिय क्षेत्र बाजुराको बडिमालिका मन्दिर पुनर्निर्माण सम्पन्न भएको छ ।

बडिमालिका मन्दिर पुनर्निर्माणको जिम्मा पाएको नेपाली सेनाले बिहिबार (आज) प्रेस नोट सार्वजनिक गर्दै गत असार २३ गते मन्दिर पुनर्निर्माण सम्पन्न भएको जनाएको हो ।

nisarga

सेनाले २०८१ चैत्र २८ गतेदेखि पुनर्निर्माणको काम सुरु गरेको थियो । प्रेस नोटमा सेनाले पुनर्निर्माणको लागत भने खुलाएको छैन ।

प्राचीन स्मारक संरक्षण ऐन, २०१३ (पाँचौं संशोधन सहित) को परिधिभित्र रही पुरात्तत्त्व विभागको स्वीकृत ड्रइङ डिजाइन तथा प्राविधिक सहयोग एवम् बाजुरा स्थित त्रिवेणी नगरपालिकाको समन्वयमा परम्परागत निर्माण सामग्रीहरूको प्रयोग गरी पुरानो मौलिक स्वरूप अनुसार पुनर्निर्माण कार्य सम्पन्न गरिएको सेनाले जनाएको छ ।

नेपाली सेनाले सार्वजनिक गरेको प्रेस नोटमा रक्षा मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नगरपालिका, बडी मालिका नगरपालिका, मन्दिरका पुजारी नेत्र प्रसाद उपाध्याय, पुरातत्त्व विभाग, त्रिवेणी भक्तपुर तथा ललितपुरका दक्ष कालिगडहरू र स्थानीयहरूको निरन्तर प्रयासमा विकट भौगोलिक अवस्था, प्रतिकुल मौसम र निर्माण सामग्री व्यवस्थापनका चुनौती माझ करिब २ महिनामा पुनर्निर्माण कार्य सम्पन्न भएको उल्लेख गरिएको छ ।

मन्दिर पुनर्निर्माण सम्पन्न भएसंगै सर्वसाधारणका लागि खुला गरिएको जनाइएको छ । देशकै चर्चित धार्मिक तथा पर्यटकीय महत्व बोकेको बडिमालिका समुद्री सतहबाट ४ हजार २ सय १९ मिटर उचाइमा रहेको छ ।

बडिमालिकामा प्रत्येक वर्ष जनैपुर्णिमामा मेला तथा मुख्य पूजा हुने गर्छ । नेपालका ४ धार्मिक धाममध्ये बडिमालिका एक धामका रूपमा परिचित छ ।